शिवशिखरमा निक्षेपकर्ताको बचत हिनामिना, सुदूरपश्चिममा १६ हजार पीडित


बुटवल । शिवशिखर सहकारीमा निक्षेपकर्ताको बचत हिनामिना लगायत विषयमा अनुसन्धान गर्न सिआइबीले सम्बन्धित जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरिसकेको छ। सम्बन्धित जिल्लामै अनुसन्धान गर्न पत्राचार गरिएको हो। कैलालीको धनगढी र अत्तरिया, लम्की डडेल्धुरा, कञ्चनपुरको महेन्द्रनगर र बेलौरी, डोटीको दिपायलमा शाखा तथा सेवाकेन्द्र सञ्चालित छन्।
यी शाखा तथा सेवा केन्द्रमा निक्षेपकर्ताले एक अर्ब ६० करोड बचत गरेका छन्। तर आफैले जम्मा गरेको बचत फिर्ता पाउन भने संघर्ष गर्नु परिरहेको छ। जम्मा गरेको बचत रकम नै हिनामिना भएको निक्षेपकर्ताको गुनासो छ। आफुले जम्मा गरेको बचत पाउन नसकेपछि सुदूरपश्चिममा मात्र शिवशिखरबाट १६ हजारको संख्या पीडित बनेका हुन्।
महेन्द्रनगर र डडेल्धुरामा सहकारीले डिपार्टमेन्टल स्टोरसमेत सञ्चालन गरेकोमा महेन्द्रनगर शाखा र डिपार्टमेन्टल स्टोर तथा धनगढी शाखाको कारोबार साढे तीन महिनादेखि बन्द छ। बाँकी शाखाबाट पनि निक्षेपकर्ताले बचत रकम पाउन सकिरहेका छैनन्। शिवशिखर सहकारीपीडितले संघर्ष समिति नै गठन गरेर आन्दोलित छन्।
सञ्चालकलाई पक्राउ गरेर रकम फिर्ता गराइदिन माग गर्दै संघर्ष समितिले प्रशासन र प्रहरीलाई ध्यानाकर्षण गराइसकेको छ। संघर्ष समितिका अनुसार धनगढी शाखामा मात्र करिब ६ हजारले करिब ६३ करोड जम्मा गरेका छन्। यो शाखाले साढे चार करोड मात्र लगानी गरेको छ।
सिआइबीले सम्वन्धित जिल्ला प्रहरी कार्यालयलाई गरेको पत्राचार अनुसार अहिले प्रहरीले शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाविरुद्ध जाहेरी दिन सूचना निकालेको छ। यस्तो सूचना जिल्ला प्रहरी कार्यालय कैलाली, डडेल्धुरा, कञ्चनपुर तथा डोटी प्रहरी जारी गरिसकेको छ। प्रहरी कार्यालयले प्रमाणसहित कार्यालयमा निवेदन दिन पीडितलाई आग्रह गरेको छ।
सहकारीले ठगी गरेको भए आवश्यक कागजातसहित जिल्ला प्रहरी कार्यालयको अपराध अनुसन्धान शाखामा सम्पर्क राख्न आग्रह गरिएको छ। सूचनामा सहकारीले साँवा ब्याज फिर्ता नगरेर ठगी गरेको भए जाहेरी दरखास्त दिन नागरिकताको प्रतिलिपी, नगद जम्मा गरेको पासबुकसहित जाहेरी दिन आग्रह गरिएको हो।
जाहेरी दिन सार्वजनिक गरिएको सूचनामा शिबशिखर बहुउदेश्यीय सहकारी संस्था लिमिटेडले विभिन्न जिल्लामा शाखा सञ्चालन गरेर संस्थाका पदाधिकारी र कर्मचारीले निक्षेपकर्ताहरुको बचत रकम फिर्ता नगरेको, शिवशिखर अर्गनाईजेसनलगायतका प्राइभेट फर्महरुमा लागानी गरी बचत हिनामिना गरेकाले निजहरू उपर कारबाही चलाउन निवेदन दिन भनिएको छ।





