समाचार

    नेपाल एअरलाइन्सले जेठ २९ गतेदेखि मलेसिया–भैरहवा नियमित उडान सुरु गर्ने

    नवलपुर टुडे
    २०८० जेष्ठ ४ | मध्यान्ह ०६:०२ बजे

      काठमाण्डौ, जेठ ४ । राष्ट्रिय ध्वजाबाहक नेपाल एअरलाइन्सले यही जेठ २९ गतेदेखि भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेसियामा नियमित उडान सुरु गर्ने भएको छ । एयरलाइन्सका प्रवक्ता रमेश पौडेलले बिहीबार विज्ञप्ति जारी गर्दै यसबारे जानकारी गराएका हुन् । 

      ‘नेपाल एअरलाइन्सले भैरहवा–मलेसिया र मलेसिया–भैरहवा–काठमाण्डौ रुटमा यही जेठ २९ देखि उडान सुरु गर्दैछ’ विज्ञप्तिमा भनिएको छ ‘त्यस अवसरमा मलेसिया–भैरहवा–काठमाण्डौका लागि अत्यन्तै सस्तो शुल्कमा टिकट उपलब्ध गराएका छौँ ।’

      पौडेलका अनुसार मलेसिया–भैरहवाका लागि १२ हजार सात सय र मलेसिया–भैरहवा–काठमाण्डौका लागि १४ हजार सात सय २० रुपैयाँ भाडादर कायम गरिएको छ । निगमले मलेसियाको जोहोरबारुबाट क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलसम्म आवतजावत गर्न चाँडै नै शटल बसको व्यवस्था गर्ने उनले बताए ।

      निगमको उडान तालिकाअनुसार टिकट बुकिङ खुला भइसकेको छ । भैरहवाबाट अहिले निगमले हप्ताको एक उडानबाट सुरु गर्ने र बजारको माग तथा निगमको बजार व्यवस्थापनअनुसार अन्य गन्तव्यमा समेत उडान गर्नेछ ।  

        कमेन्टहरु