भरतपुर कारागारमा औषधीको अभाव


चितवन, जेठ २ । भरतपुर कारागारमा औषधी किन्न बजेट अभाव भएको छ । कारागार विभागले अघिल्ला वर्षका तुलनामा बजेट घटाएर पठाएपछि दीर्घरोगी र अन्यका लागि औषधीको अभाव भएको हो ।
कारागारमा हाल ४९ महिला चार नाबालक/नाबालिकासहित सात सय ५८ कैदीबन्दी छन् । तिनीहरूमध्ये दुई सय हाराहारी दीर्घरोगी छन् । कारागारका प्रमुख कमलप्रसाद आचार्यका अनुसार उनीहरू उच्च रक्तचाप, मधुमेह, थाइराइड, क्यान्सर, मिर्गौलाजस्ता दीर्घरोग भएका छन् । उनीहरूलाई नियमित औषधी खुवाउनुपर्ने हुन्छ ।
यसका अतिरिक्त समय–समयमा कैदीबन्दी बिरामी पर्दा औषधी किन्नुपर्ने हुन्छ । उनका अनुसार कारागार विभागले चालु आर्थिक वर्षका लागि रु १२ लाखमात्रै बजेट पठाएको छ। अघिल्लो वर्ष रु २५ लाख पठाएको थियो । यसभन्दा अघिल्लो वर्ष रु ४८ लाख पठाएको जनाउँदै उनले कैदीबन्दीलाई औषधी खुवाउन नसक्ने अवस्थामा पुगेको बताए ।
औषधीको चरम अभाव भएपछि रु १५ लाख माग गरेकामा रु एक लाखमात्रै प्राप्त भएको कारागार प्रमुख आचार्यले जानकारी दिए । कारागारले जिल्ला स्वास्थ्य कार्यालय, भरतपुर महानगरपालिकाको स्वास्थ्य महाशाखामा अनुरोध गरेर केही औषधी जुटाएको छ ।
दैनिक औषधिको व्यवस्थापनमा जटिलता हुँदै आएको छ । उनले भने, ‘किन्न बजेट अभाव भएपछि सरकारी र गैरसरकारी क्षेत्रबाट सहयोगका लागि अनुरोध गरिरहेका छौँ ।’ नियमित औषधीसमेत अभाव भएको जनाउँदै शल्यक्रिया गर्नुपर्ने, भर्ना गरेर उपचार गर्नुपर्ने अवस्था आएमा झन् ठूलो समस्या हुने उनले बताए ।





