समाचार

    उद्धार गरिएका पुष्पा र अञ्जलीलाई प्रकृतिमा छाडियो

    नवलपुर टुडे
    २०८० बैशाख ३१ | मध्यान्ह १२:०१ बजे

      चितवन, वैशाख ३१ । चितवन राष्ट्रिय निकुञ्जले पालेर राखेका दुई गैँडाका बच्चा (केटो) लाई प्रकृतिमा छाडिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा पालिएका ती गैँडालाई निकुञ्जको लामिताल क्षेत्रमा छोडिएको हो ।

      निकुञ्जका पशु चिकित्सक डा.विजय श्रेष्ठकाअनुसार डार्ट नगरिकनै ट्रकमा राखेर ती दुई गैँडालाई तामिताल पुर्याएर छाडिएको छ । निकुञ्जमा आमाबाट छुटेको अवस्थामा भेटिएका पुष्पा र अञ्जली नामका ती दुई बच्चालाई निकुञ्जकै नवलपरासी क्षेत्रबाट उद्धार गरी ल्याइएको थियो ।

      श्रेष्ठका अनुसार पुष्पालाई सन् २०२० को जनवरीमा नवलपरासीको तमासपुर र अञ्जलीलाई २०२१ को अप्रिलमा नवलपरासीकै कुजौलीबाट उद्धार गरिएको थियो । एक दुई महिनाको उमेरमा आमाबाट छुटेका उनीहरुलाई हुर्काएपछि प्राकृतिकरुपमा छाडिएको उनले बताए । पुष्पा र अञ्जलीलाई यतिबेला प्राकृतिकरुपमा घाँस खोजेर खानसक्ने भएका छन् ।

      उद्धार गरी हुर्काइएका कतिपय जङ्गली जनावर मित्रराष्ट्रलाई दिने, कतिपयलाई चिडियाघरमा त कतिपयलाई प्राकृतिमा राख्ने गरिँदै आएको छ । रासस

        कमेन्टहरु