६ करोड मूल्य बढीको जुत्तासहित तीन वटा ट्रक नियन्त्रणमा


काठमाडौं, वैशाख ३१ । सशस्त्र प्रहरी बलले मकवानपुरबाट भन्सार छली ल्याएका तीन ट्रक जुत्ता नियन्त्रणमा लिएको छ ।
हेटौंडा उपमहानगरपलिका-१५ स्थित पूर्व–पश्चिम लोकमार्गबाट विशेष सूचनाको आधारमा एडिडास सुपरस्टार जुत्तासहित तीन वटा ट्रक नियन्त्रणमा लिइएको सहायक प्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
अमेरिकी डलर ४ लाख ८८ हजार १७३.६३ रुपैयाँ (६ करोड ४२ लाख २९ हजार ४ रुपैयाँ ) मूल्य लेखिएको प्रज्ञापनपत्र सहित ना ३ ख ७४५०, ना ३ ख ७६५८ र ना ३ ख ७७५० नम्बरको तीन वटा ट्रक नियन्त्रणमा लिएको हो ।
ती ट्रकमा लोड गरिएका जुत्ताका बिल बिजक शंकास्पद रहेको भन्ने विशेष सूचनाको आधारमा नम्बर १४ गण मकवानपुरले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएको जुत्ता र तीनवटै ट्रक आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरमा बुझाइएको प्रहरीले जनाएको छ ।





