मोरङको ‘राठी म्यानुफ्याक्चरिङ’ उद्योगमा आगलागी

नवलपुर टुडे
२०८० बैशाख २९ | बिहान १०:०१ बजे

विराटनगर, वैशाख २९ । मोरङको राठी म्यानुफ्याक्चरिङ उद्योगमा भीषण आगलागी भएको छ ।
जिल्लाको बुडीगङ्गा गाउँपालिका–५ मा राजेन्द्रकुमार राठीले सञ्चालन गर्दै आएको राठी उद्योगमा गएराती २ बजेदेखि आगलागी भएको मोरङका डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए । आगलागी अहिलेसम्म पूर्णरूपमा नियन्त्रणमा आउन सकेको छैन ।
डिएसपी दाहालका अनुसार बाहिरी संरचनाको आगो नियन्त्रणमा लिइएपनि भित्र रहेका सामानमा लागेको आगो नियन्त्रणमा आइसकेको छैन । आगलागी नियन्त्रणमा लिन १२ वटा वारूणयन्त्रसहित सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको डिएसपी दाहालले जानकारी दिए ।
बिजुली सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ । यकिन कारण खुल्न बाँकी छ । उक्त उद्योगले बिजुलीका बल्ब र स्वीच उत्पादन गर्ने गर्छ ।





