कपिलवस्तुको विजयनगरमा आगलागीबाट ५ ओटा घरगोठ जलेर नष्ट, पीडितलाई राहत वितरण


नन्द किशोर कुर्मी
विजयनगर, वैशाख २९ । कपिलवस्तुको विजयनगर गाउँपालिका – ७ मुधुनगरमा आगलागी हुँदा अन्दाजी आठ लाख रुपैयाँ बढीको धनमाल क्षति भएको छ । फुसको आंशिक गरि ५ ओटा घरगोठ जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ ।
बिहिबार करिब साढे १ बजेतिर लागेको आगोले खाद्यान्न, लत्ताकपडा, कागजपत्र लगायतको सामग्री जलेर नष्ट भएको प्रहरी निरीक्षक कृष्ण रानाले जानकारी दिए । आगलागीबाट मानवीय क्षति भने नभएको प्रहरी निरीक्षक रानाले बताए । आगलागीको कारण अहिले खुल्न नसकेको उनले बताए ।
प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि र स्थानीयको सहयोगमा १ घण्टापछि आगो नियन्त्रणमा आएको थियो । विजयनगर गाउँपालिकाका वडा अध्यक्ष दिनेश कुमार चौधरी र युवा नेता विजयकुमार चौधरीले तत्कालका लागि आगलागी पिडितलाई राहत स्वरुप प्रतिघरलाई ४० किलो दरले चामल, दाल, तेल, मसला लगायत आवश्यक खाद्यान्न सामग्री उपलब्ध गराएका छन् ।






