पश्चिम नवलपरासीमा ५ जना पत्रकारले गरे महासंघको सदस्यता त्यागेको स्वघोषणा


नवलपरासी, बैशाख २८ । नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासी जिल्ला शाखाका ५ जना सदस्यले पत्रकार महासंघको सदस्यता त्यागेका छन । सदस्य त्याग स्वघोषणा गर्नेमा जिल्ला शाखाका पूर्वसभापतिदेखि सचिव र कार्यसमिति सदस्यसमेत रहेका छन ।
जसमा पूर्वसभापति रामप्रसाद पाण्डे, पूर्वजिल्ला सचिव सञ्जय कर्ण, पूर्वकार्यसमिति सदस्य ताराचन्द्र बर्मा, उर्मिला बानियाँ र सुनयना चौधरीले स्वघोषणा सदस्य त्याग गरेको पत्रकार महासंघ पश्चिम नवलपरासीका अध्यक्ष हरि शर्माले बताए ।
नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले संस्था शुद्धिकरण अभियान सञ्चालन अभियानअन्तर्गत जिल्ला शाखाले हाल पत्रकारिता क्षेत्रमा क्रियाशील नभएका र अन्य पेशालाई मुल पेशा बनाएका सदस्यहरुलाई सदस्यता त्यागको स्वघोषणा गरी संस्था शुद्धिकरणलाई सहयोग गर्न आह्वान गरेका थिए । सोही अनुसार पाँच जना सदस्यले महासंघका सदस्यता त्याग गरेका हुन ।
उनीहरुले पत्रकार महासंघ शाखा परासीमा बुझाएको अलग अलग स्वघोषणा निवेदनमा ‘महासंघलाई विशुद्ध पत्रकारिता गर्ने सदस्यहरुको मात्र संस्थाका रुपमा अघि बढाउने कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले सदस्यता त्याग गरेको उल्लेख गरेका छन ।’
हाल जिल्ला महासंघ शाखामा ८६ जना सदस्यहरु छन् । पत्रकारिताभन्दा अन्य पेशालाई मूल पेशा बनाएका र निष्कृय रहेका केही सदस्यहरुले पनि आफूहरुले संस्था शुद्धिकरणका लागि सहयोग स्वरुप सदस्यता त्यागको स्वघोषणा गर्ने जनाएको अध्यक्ष शर्माले बताए ।
केन्द्रीय महासंघले जारी गरेको संस्था शुद्धिकरण मापदण्ड निर्देशिकामा जनप्रतिनिधि, निजामति तथा अन्य जुन सुकै सरकारी निकायको स्थायी, अस्थायी, करार सेवामा कार्यरत (मिडियासँग सम्बन्धित सरकारी र संस्थानबाहेक) तथा गैरसरकारी संस्था (सहकारी, बैंक, फाइनान्सलगायत अन्य संघसंस्था) मा पूर्णकालीन काम गर्नेको सदस्यता नवीकरण नहुने र नयाँ सदस्यता पनि प्राप्ति नहुने उल्लेख छ ।
संस्था शुद्धिकरण मापदण्ड निर्देशिकामा अनुसार सबै जिल्ला शाखाबाट महासंघको सदस्यता लिएका तर कहिले काँही मात्र पत्रकारिता गर्नेकोसमेत सदस्यता नवीकरण नहुने उल्लेख छ । महासंघ शाखाले सदस्यता त्यागको स्वघोषणा गर्ने सदस्यले विगतमा महासंघ र जिल्लाको पत्रकारिता क्षेत्रमा पु¥याएको योगदान हेरेर मानार्थ सदस्यका रुपमा केन्द्रमा सिफारिस गर्न सकिनेसमेत संस्था शुद्धिकरण मापदण्ड निर्देशिकामा उल्लेख छ ।





