पाल्पाको अलग अलगस्थानमा झुन्डिएको अवस्थामा बेवारिसे शव फेला


पाल्पा । पाल्पाको माथागढी र तिनाउ गाउँपालिकामा सोमबार झुन्डिएको अवस्थामा बेवारिसे शव फेला परेको छ ।
तिनाउ गाउँपालिका–३, झुम्सामा रहेको खुल्खुले सामुदायिक वन क्षेत्रमा २२/२५ वर्षीया युवकको शव झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए ।
झुम्सा नजिकै खुल्खुले वनको रुखमा झुन्डिएको र सडेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
त्यसैगरी माथागढी गाउँपालिका–५, को सामुदायिक वनमा चिलाउनेको रुखमा झुन्डिएको अवस्थामा अर्को बेवारिसे शव फेला परेको छ । माथागढीमा भेटिएको शव अन्दाजी ४० वर्षको र साधुको भेषमा रहेको प्रहरीले जनाएको छ । दुवै शव सडेगलेको अवस्थामा रहेको र पोष्टमार्टमको लागि जिल्ला अस्पताल पाल्पामा लगिएको छ ।
सो घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । फेला परेका दुवै शवको पहिचान खुल्न सकेको छैन । प्रहरीले शव पहिचानको लागि अनुसन्धान जारी राखेको जनाएको छ ।





