समाचार

    मर्स्याङ्दी जलविद्युतबाट उत्पादन घट्यो

    नवलपुर टुडे
    २०८० बैशाख २५ | मध्यान्ह ०४:०१ बजे
    फाइल तस्बिर

      तनहुँ, वैशाख २५ । आँबुखैरेनी गाउँपालिका–४ मा रहेको मर्स्याङ्दी जलविद्युत् केन्द्रको विद्युत् उत्पादन घटेको छ । जलवायु परिवर्तन र  गर्मी बढ्दै गएकाले मर्स्याङ्दी नदीमा पानीको बहाव कम भई उत्पादनमा कमी आएको हो । 

      तापक्रम बढे पनि हिमालमा प्रशस्त हिउँ नहुँदा नदीमा पानीको बहाव कम भएर  विद्युत् उत्पादनमा कमी आएको केन्द्रका प्रमुख बद्री फुयाँलले बताए । विगत वर्षको तुलनामा यसवर्ष लामो समयदेखि खडेरी परेकाले नदीमा मिसिने खोला, झरना, खोल्सीको पानी घट्दै गएको र कतिपय मुहानसमेत सुक्दै गएकाले विद्युत् उत्पादन कमी भएको उनले जानकारी दिए । 

      पानी कम हुँदा अहिले दिउँसोको समयमा ४० मेगावाटको हाराहारीमा विद्युत् उत्पादन हुँदै आएको छ । नदीमा पानीको बहाव वृद्धि भएको समयमा तीनवटा युनिटबाट २३/२३ मेगावाटका दरले पूर्ण क्षमताको (६९ मेगावाट) विद्युत् उत्पादन हुने गर्दछ ।  

      ‘‘नदीमा पानीको मात्रा आधा कम भएकाले उत्पादन पनि सोही अनुसार घट्दै गएको छ”, प्रमुख फुयाँलले भने, “साँझ र बिहान बिजुलीको माग धेरै हुने भएकाले नदीको पानी दिउँसो रिजर्भ ट्याङ्कमा जम्मा गरेर लैजाने र साँझ र बिहान भने पूर्ण उत्पादन बढाउने गरिएको छ ।” 

      यति बेला सुख्खा याम भएकोले उत्पादनमा कमी आएको तर हिमालमा प्रशस्त हिउँ परेको भए प्रतिदिन झण्डै १० युनिट बढी विद्युत् उत्पादन गर्न सकिने उनले जानकारी दिए । यस केन्द्रबाट उत्पादित विद्युत् चितवनको भरतपुरबाट काठमाडौँको स्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडी वितरण हुँदै आएको छ । रासस

        कमेन्टहरु