समाचार

    दार्चुला र बझाङमा हिमपहिरोमा परी बेपत्ता भएका दुई जनाको शव फेला

    नवलपुर टुडे
    २०८० बैशाख २५ | मध्यान्ह ०३:०१ बजे

      दार्चुला, वैशाख २५ । दार्चुलामा हिमपहिरोमा परी बेपत्ता भएका थप एक जनाको शव भेटिएको छ । १९ वैशाखमा दार्चुलाको ब्यास गाउँपालिकामा गएको हिम पहिरोमा बेपत्ता भएकाको खोजीमा जुटेको सशस्त्र प्रहरीले एक जनाको शव फेला पारेको हो ।

      डोटीको जोरायल गाउँपालिका-२ की २८ वर्षीया ईश्वरी थापाको शव सशस्त्र प्रहरी बल नं ५० गुल्म छाङ्रुको टोलीले फेला पारेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । यसअघि ३ जनाको शव फेला परेकै ठाउँमा उनको शव फेला परेको हो । हिमपहिरोमा हराइरहेका थप एक जनाको खोजी भइरहेको पनि दार्चुला प्रहरीले जनाएको छ ।

      यस्तै बझाङमा पनि हिमपहिरोमा परेर बेपत्ता भएकी महिलाको शव भेटिएको छ । यार्सागुम्बा संकलनका लागि पार्थी हिमाल गएको अवस्थामा हिमपहिरोमा परेर बेपत्ता भएकी सुर्मा गाउँपालिका-१ वेवडी घर भएकी ३३ वर्षीया झल्लादेवी बोहराको शव आज ७ दिनपछि भेटिएको हो । 

      छोरासहित सुर्मा गाउँपालिकाको पार्थी हिमालको वनमा यार्सागुम्बा संकलन गर्न गएकी बोहरा हिमालबाट घर फर्किने क्रममा वैशाख १९ गते हिमपहिरोमा परेर बेपत्ता भएकी थिइन् । बेपत्ता भएको दिनदेखि नै स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरीले निरन्तर खोजी कार्य गरेकोमा आज सोमबार बिहान मात्रै शव भेटिएको हो । 

      बेपत्ता भएको ठाउँबाट करिब एक किलोमिटर तल पार्थी भिरमा आज शव भेटिएको सुर्मा गाउँपालिका-१ का वडा अध्यक्ष दिनेश बोहोराले जानकारी दिए । अध्यक्ष बोहोराका अनुसार ती महिलाले लगाएको सुनको गहना समेत हराएको छ । अहिले प्रहरी मुचुल्कापछि शवलाई घर ल्याएर दाहसंस्कारको तयारी भएको छ ।  

        कमेन्टहरु