‘पत्रकारको सुरक्षाका लागि सरकार प्रतिबद्ध छ’


काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षा सुनिश्चित गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन् ।
आइतबार आयोजित राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा उनले सरकारले सञ्चार क्षेत्रको व्यावसायिक र संस्थागत विकासका लागि मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह नै मान्यता प्रदान गरी संरक्षण र समर्थन गर्ने नीति लिएको प्रस्ट्याए ।
सरकारले प्रवाह गरिरहेको सरकारी विज्ञापनलाई विज्ञापन बोर्डमार्फत समानुपातिक र न्यायिक ढंगले वितरण गर्ने तयारी भइरहेको बताउँदै प्रचण्डले भने, ‘सरकारले प्रवाह गर्ने सबै सरकारी विज्ञापन, विज्ञापन बोर्डमार्फत न्यायिक ढंगले वितरण गर्ने व्यवस्थासहित प्रक्रिया अघि बढिसकेको छ ।
ज्येष्ठ पत्रकार र अपांगता भएका पत्रकारहरूका लागि जीवन निर्वाह भत्ताको व्यवस्था मिलाइँदै छ । सञ्चार उद्योगको संस्थागत विकासलाई ध्यानमा राखी एकीकृत मिडिया विकास कोष स्थापनाका लागि पहल अघि बढाइँदै छ ।’





