रूखको हाँगा खसेर लाग्दा एक जनाको मृत्यु

नवलपुर टुडे
२०८० बैशाख २३ | मध्यान्ह ०५:०१ बजे

महेन्द्रनगर, वैशाख २३ । रुखको हाँगा खसेर कञ्चनपुरका आज एक जनाको मृत्यु भएको छ ।
सामुदायिक वनमा दाउरा खोज्न हिँडेका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ का ४५ वर्षीय अनिल डगौराको मृत्यु भएको हो । गाउँलेसित स्थानीय बैजनाथ सामुदायिक वनमा दाउरा खोज्न हिँडेका डगौरालाई रूखको हाँगा खसेर टाउकोमा चोट लागेको थियो ।
उपचारका क्रममा महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पताल पुर्याउँदा उनलाई मृत घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेको उनले बताए ।
घटनापछि इलाका प्रहरी कार्यालय झलारीका प्रमुख सूर्यबहादुर शाहीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा गएको छ । शव महाकाली अस्पतालमा राखिएको छ । रासस





