इलाममा घरको जग खन्ने क्रममा ढिस्को खसेर पुरिँदा चार जनाको मृत्यु

नवलपुर टुडे
२०८० बैशाख २३ | बिहान ०६:०१ बजे

इलाम, वैशाख २३ । इलाममा घर बनाउन जग खन्ने क्रममा ढिस्को खसेर पुरिँदा चार जनाको ज्यान गएको छ । सूर्योदय नगरपालिका-१० फिक्कल बजारनजिकै घरको जग खन्दै गर्दा खसेको ढिस्कोले पुरिएका चार जनाको घटनास्थलमै मृत्यु भएको हो ।
मृत्यु हुनेमा बिहार राज्य किसनगञ्ज जिल्ला डिगलबैंक निवासी वर्ष १८ का अलिम महिम अली, तोसिब आलम, मोहम्मद अब्दुल आलम र वर्ष १९ का मैजफर आलम रहेको प्रहरीको भनाइ छ । उनीहरु सबै भारतीय नागरिक रहेका छन् ।
स्थानीय विनोद श्रेष्ठको घरको जग खन्ने क्रममा पहिरो खसैझैँ ढिस्को खस्दा उनीहरू पुरिएको इलाका प्रहरी पशुपतिनगरका प्रहरी निरिक्षक सन्तोष राईले बताए । उक्त घटनामा अन्य ३ जनाले भागेर ज्यान जोगाएका थिए ।





