धर्म–संस्कृति/रीतिथिति

    किराँत समुदायले आज उभौली पर्व मनाउँदै

    नवलपुर टुडे
    २०८० बैशाख २२ | बिहान ०७:०१ बजे

      काठमाडौं । प्रकृतिपूजक किराँत जातिले आज उभौली पर्व मनाउँदैछन्। वैशाख पूर्णिमाका अवसरमा ढोलझ्याम्टाका साथ साकेला नाच्दै मनाइने किरात राई समुदायले उभौली पर्व मनाउने गर्दछन्। किराँती प्रकृतिपूजक भएकाले प्रकृतिलाई खुशी पार्न हरेक वर्ष यो पर्व मनाइन्छ।

      किराँतको यो पर्व पृथ्वीमा कृषि युग शुरु भएदेखि प्रचलनमा आएको विश्वास गरिन्छ । यो पर्व ऋतु परिवर्तनको संकेत दिने पर्व पनि हो। वसन्त ऋतुमा पर्ने उभौलीमा साकेला चण्डी नाच नाचिन्छ। नाचमार्फत् प्रकृतिको आराधना गरिन्छ। चण्डी नाच नाचिने भएकाले यो दिनलाई चण्डी पूर्णिमा भनिन्छ।

      यो दिनलाई सुम्निमा अर्थात् पार्वतीको सृष्टि भएको दिन मानिन्छ। उभौली पर्व मौसमसँग सम्बन्धित छ। अन्नबाली सप्रियोस्, खाद्यान्नको कमी नहोस् र सुखशान्ति प्राप्त होस् भन्ने उद्देश्यका साथ यो पर्व मनाउने गरिन्छ। किरात राईहरूको बसोबास रहेको कोशी प्रदेशअन्तर्गतका पूर्वी पहाडी जिल्लाका साथै धरान, इटहरी, गाईघाट, कटारी, मोरङ तथा राजधानी काठमाडौँ आदि सहरमा रहेका राई समुदायले यो पर्व धुमधामका साथ मनाउने गर्छन्।

        कमेन्टहरु