गौतम बुद्धको जन्मभूमि नेपाल हुनु नेपालीका लागि गौरव


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विश्व शान्तिका दूत गौतम बुद्धको जन्मभूमि नेपाल हुनु हामी सबै नेपालीहरूका लागि गौरवको विषय भएको बताएका छन् ।
२५६७औँ बुद्ध जयन्तीको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति पौडेलले गौतम बुद्धले प्रतिपादन गरेको अहिंसा र शान्तिको सन्देशले व्यक्ति, परिवार, समाज, देश र विश्वको सर्वोत्तम हित र प्रगतिका लागि सदैव प्रेरणा दिने विश्वास व्यक्त गरे ।
सन्देशमा भनिएको छ, ‘शान्तिदूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालन गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र आपसी सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ एवं सबल बनाउन सकिने विश्वास मैले लिएको छु ।’
बुद्धको अहिंसात्मक शान्ति सन्देश तथा उपदेशको स्मरण गर्दै एकता, सहिष्णुता, सद्भाव, अहिंसा र शान्तिको महान् अभियानमा लाग्न विश्वका सम्पूर्ण मानवलाई प्रेरणा मिलोस् भनी राष्ट्रपति पौडेलले शुभकामना दिएका छन् ।





