समाचार

    स्मार्ट टेलिकम दूरसञ्चार प्राधिकरणको नियन्त्रणमा

    नवलपुर टुडे
    २०८० बैशाख २१ | मध्यान्ह ०७:०१ बजे

      काठमाडौँ । आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र निर्धारित समयसीमाभित्र नवीकरण नगरेपछि खारेजीमा परेको स्मार्ट टेलिकमलाई नेपाल दूरसञ्चार प्राधिकरणले नियन्त्रणमा लिएको छ ।

      योसँगै उक्त्त टेलिकमसँग जोडिएका व्यवसायी र ग्राहकहरूमाझ अन्योल सिर्जना भएको छ । बिहीबार उनीहरूमध्ये केहीले स्मार्टको कार्यालयमा पप्लेट बोकेर प्रदर्शनसमेत गरे ।

      नवीकरणका लागि नियमअनुसार दस्तुर दाखिला गरी निवेदन पेश नगरेकाले उक्त्त अनुमतिपत्र दूरसञ्चार ऐन, २०५३ को दफा २५ (५) बमोजिम स्वत: खारेज भएको प्राधिकरणले बुधबार जारी गरेको सूचनामा भनिएको छ ।

      प्राधिकरणले कम्पनी खारेज भएको पत्र पठाउँदै दूरसञ्चार पूर्वाधार संरचना, दूरसञ्चार प्रणाली र दूरसञ्चार सञ्जाल चालु अवस्थामा प्राधिकरणलाई हस्तान्तरण गर्न भनेको छ । स्मार्ट टेलिकमको हकमा अब ‘अनुमतिपत्र बहाल नरहेको दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९’ अनुसार प्रक्रिया अघि बढ्ने प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले बताए ।

      ‘हिजो हामीले स्मार्टलाई पत्र पठाएर नियन्त्रणको प्रक्रिया सुरु गर्यौं,’ उनले भने, ‘बाँकी काम व्यवस्थापन समूहमार्फत अघि बढ्नेछ ।’ व्यवस्थापन समूहबारे नियमवालीको नियम ३७ मा उल्लेख भएअनुसार प्राधिकरणले नियन्त्रणमा लिएको सम्पत्ति र रेडियो फ्रिक्वेन्सीको व्यवस्थापन ६ महिनाभित्र गरिसक्नुपर्ने, दूरसञ्चार सेवा सञ्चालन गर्न आवश्यक पर्ने जनशक्ति नियुक्त्त गरी काममा लगाउनसक्ने लगायत जिम्मेवारी तोकिएको छ ।

        कमेन्टहरु