दार्चुलामा हिमपहिरो : यार्सागुम्बा टिप्न गएका मानिसहरू पुरिएको आशंका

असिम कामु
२०८० बैशाख १९ | मध्यान्ह ०५:०१ बजे

दार्चुला, वैशाख १९ । दार्चुलाको व्याँस गाउँपालिका – १ बोलिनमा हिमपहिरो गएको छ । हिमपहिरोमा यार्सागुम्बा खोज्न गएकाहरू पुरिएको आशंका गरिएको छ ।
गाउँपालिकाको वडा नम्बर १ का सचिव विनोदसिंह बुढाथोकीले घटनास्थलतर्फ करिब २० जना सशस्त्र प्रहरी गएको जानकारी दिएका छन् । उनले भने, “बोलिन भन्ने ठाउँमा हिमपहिरो गएको भन्ने जानकारी आएको छ । छाङरुबाट १८/२० जना सशस्त्र प्रहरी घटनास्थलतर्फ जानुभएको छ । थप विवरण आएको छैन ।”
हिमपहिरोले यार्सागुम्बा टिप्न गएका अन्दाजी ८/९ जना स्थानीय बासिन्दाहरू बस्नका लागि गाडेको दुईवटा त्रिपाल पुरिएको आशंका गरिएको उनले बताए । तर, अहिले यकिन जानकारी नआइसकेको र सशस्त्र प्रहरी घटनास्थलमा पुगेपछि थप विवरण आउने उनको भनाइ छ ।





