समाचार

    नवलपरासीमा पराल लोड गरेको ट्रकमा आगलागी हुँदा ३ लाख ५० हजारको क्षति

    नवलपुर टुडे
    २०८० बैशाख १६ | बिहान ११:०१ बजे

      नवलपरासी, वैशाख १६ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका – १३ पाडाटिकरमा पराल लोड गरेको ट्रकमा आगलागी भएको छ । शुक्रबार राती करिब ८ बजेतिर ना २ ख ९७४२ नम्बरको पराल लोड गरेको ट्रक बिजुलीको तारमा टच भई अचानक आगलागी भएको हो ।

      स्थानीयले आगलागी भएको खबर गर्नासाथ जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट प्रहरी सहायक निरीक्षक बशिष्ठ यादवको कमाण्डमा ५ जनाको टोली खटिएको थियो । स्थानीय, प्रहरी र दमकलको सहयोगमा आगो करिब दुई घण्टापछि नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले जानकारी दिए ।

      सो आगोलागीबाट २० हजार बराबरको पराल र ३ लाख ३० हजार बराबरको ट्रकको पछाडीको भागमा क्षति भई जम्मा ३ लाख ५० हजार बराबरको धनमाल क्षति भएको डीएसपी पाण्डेले बताए ।

        कमेन्टहरु