वर्षौंदेखि अवैध धन्दा चलाउँदै प्याथमाइण्ड्स डाइग्नोष्टिक


काठमाडौं, वैशाख १५ । काठमाडौं महानगरपालिकाको वडा नम्बर ९ सिनामंगलमा प्याथमाइण्डस डाइग्नोष्टिक केयर प्रालिले वर्षौंदेखि अवैध रूपमा गैरकानूनी धन्दा चलाइरहेको पाइएको छ ।
वि.सं २०७६ मा कम्पनी रजिस्ट्रारमा दर्ता भएको उक्त प्याथमाइण्ड्स डाइग्नोष्टिकले ल्याबोरेटरी नियामक निकाय नेपाल जनस्वास्थ्य प्रयोगशालामा कुनै पनि प्रकारको सम्बन्धन बिना नै ल्याबोरेटरी लगायतका मेडिकल सेवा प्रदान गर्दै आइरहेको पाइएको हो ।
हामीलाई प्राप्त प्रमाणअनुसार कम्पनीले अवैध रूपमा वि.सं २०७७ साउन ४ गते जनस्वास्थ्य प्रयोगशालाको मापदण्ड बेगर नै ल्याब परीक्षण गरेको पाइएको छ । एक ४८ वर्षीय महिलाको थाइराइडसम्बन्धी ल्याब परीक्षणका क्रममा इन्टरप्रेड डाइग्नोष्टिक सेन्टर थापाथलीले रिफर गरेर प्याथमाइण्ड्सले अवैध रिपोर्ट तयार गरेर पठाएको पाइएको छ ।
उक्त ल्याब रिपोर्टमा डा.आभास कोइरालाको समेत संलग्नता देखिन्छ । भने, ल्याब टेक्नोलोजिष्ट सुजाता कक्षपति र राजिव खड्कीले परीक्षण गरेका छन् । अवैध रूपमा सञ्चालन भइरहेको संस्थामा डाक्टर र ल्याब टेक्निसियनहरुको संलग्नता समेत शंकास्पद देखिन्छ ।
कोरोना महामारीको समयमा समेत अवैध रूपमा सेवा सञ्चालन गरेको ल्याबले जनताको स्वास्थ्यमाथि कसरी खेलबाड कति धेरै भन्ने कल्पना गर्न समेत सकिँदैन । लगातार कम्पनीले यस्ता प्रकारका गम्भीर ल्याब परीक्षणका रिपोर्टहरू अवैध रूपमा बनाउने गरेको पाइएको हो ।
अचम्मको कुरा त के छ भने प्याथमाइण्ड्स डाइग्नोष्टिक अवैध रहेको जान्दाजान्दै थापाथलीस्थित इन्टरप्रेड डाइग्नोष्टिक सेन्टरले रिफर गर्ने गरेको छ । प्याथमाइण्ड्स डाइग्नोष्टिकले सार्वजनिक रूपमा सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज केएमसी नजिकै खुलेआम होडिङ बोर्ड नै राखेर अवैध सेवा सञ्चालन गरिरहेको छ । उक्त कम्पनीले ल्याब सेवा मात्र होइन डाक्टर अपोइन्टमेण्ट र रिसर्च लगायतका धन्दाहरू समेत अवैध रूपमा चलाउँदै आएको छ ।
आफूलाई बी क्याटगोरीको ल्याब दाबी गर्ने कम्पनी हालसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको सूचीमा दर्ता भएको छैन । वर्षौदेखि अवैध रूपमा आम नागरिकको स्वास्थ्यमा अवैध र मापदण्ड बेगर प्याथमाइण्ड्सले जनताको जीवनमा खेलबाड गरिरहेको छ ।
कम्पनीका सञ्चालकहरू समेत शंकास्पद देखिएका छन् । सञ्चालकमध्येका कपिलमणि आचार्य, जीवन परियार, शिवम् रिजाल र अर्का ओम भन्ने व्यक्ति रहेको बुझिएको छ । यद्यपि उनीहरू कसैले पनि आफूहरू संस्थाको लगानीकर्ता र सञ्चालक स्वीकार्न हिचकिचाउँछन् । कतिपयले कम्पनीबाट आफू राजीनामा दिएर बसेको बताउँछन् भने कतिपयले आफूलाई आधिकारिक व्यक्ति नरहेको दाबी गर्छन् ।
नागरिकको स्वास्थ्य जस्ता व्यवसायमा किन गैरकानूनी काम गरिन्छ ? भनेर सोध्दा सञ्चालक भनिएका जीवन परियार भन्छन्, ‘हामी दर्ताको प्रक्रियामा छौँ, केही दिनमै यो प्रकृया सक्छौँ ।’
०४-१२-२०७७ मा जारी गरिएको ल्याब रिपोर्टमा पनि डाक्टरको हस्ताक्षर छैन । त्यसबेलादेखि अहिलेसम्म प्रक्रिया सुरु नगर्नुको कारण सोध्दा परियार कोभिडका कारण ढिलाइ भएको बताए भने, थप केही भन्न चाहेनन् ।
यसमा नेपाल जनस्वास्थ्य प्रयोगशालाले आँखा चिम्लिएको पाइएको छ । राजधानीको मुटुमा वर्षौदेखि अवैध धन्दा चलाइरहेको ल्याबलाई बिना कुनै अनुमति जनताको जीवनमाथि चरम खेलबाड गरिरहँदा पनि जनस्वास्थ्य प्रयोगशाला प्रमुख रुणा झाले उल्टै ल्याबको अनुमतिका लागि बिना रोकटोक प्रक्रिया समेत अघि बढाइरहेकी जानकारीमा आएको छ ।
जनताको जीवनमाथि चरम खेलबाड गरेको प्याथमाइण्ड्स डाइग्नोष्टिकलाई खुलेआम सरकारको संरक्षण गरेको देखिन्छ । नियामक निकाय नै अवैध ल्याबप्रति आँखा चिम्लेर बस्दा जनताको जीवनप्रति राज्य कति गैरजिम्मेवार छ भन्ने पुष्टि हुन्छ ।






