गण्डकी प्रदेश

    गण्डकी प्रदेशको मुख्यमन्त्री बन्दै कांग्रेसका सुरेन्द्र पाण्डे

    नवलपुर टुडे
    २०८० बैशाख १४ | मध्यान्ह ०१:०१ बजे

      पोखरा, वैशाख १४ । नेपाली कांग्रेस गण्डकी संसदीय दलका नेता सुरेन्द्र पाण्डे आज मुख्यमन्त्री नियुक्त हुने भएका छन् ।

      प्रदेश प्रमुख पृथ्वीमान गुरुङले दिएको समयसिमा अघि नै सरकार दाबी गर्न जाने तयारी गरेको कांग्रेस गण्डकीका सांसद भेषबहादुर पौडेलले बताए । ‘आज अपरान्ह ४ बजेअघि नै हामी सरकार दाबी गर्न जान्छौं,’ पौडेलले भने, ‘हाम्रो संसदीय दलका नेता सुरेन्द्र पाण्डे मुख्यमन्त्री बन्नुहुन्छ ।’

      गण्डकीमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमानले पनि मुख्यमन्त्री दाबी गर्दै आएका थिए । शीर्ष नेताहरूबीच पहिलो चरणमा कांग्रेस र दोस्रो चरणमा माओवादीले नेतृत्व गर्ने गरी सहमति भएको चुमानले दाबी गरेका छन् । ‘आधा-आधा कार्यकाल मुख्यमन्त्री चलाउँछौं । शीर्ष नेताहरूमा यही सहमति भएको बुझिएको छ,’ उनले भने ।

      मंसिर ४ मा भएको निर्वाचनपछि गण्डकीमा नेकपा एमालेका संसदीय दल नेता खगराज अधिकारी नेतृत्वको सरकार गठन भएको थियो । केन्द्रमा एमाले सरकारबाट बाहिरिएपछि गण्डकीमा माओवादी सरकारबाट बाहिरिएको थियो ।

      मुख्यमन्त्री अधिकारीले गत शनिबार प्रदेश सभामा विश्वासको मत नपाएपछि उनी पदमुक्त भएका थिए । मुख्यमन्त्रीबाट अधिकारी पदमुक्त भएपछि प्रदेश प्रमुख गुरुङले सोमबार संविधानको धारा १६८ उपधारा २ अनुसार दुई वा दुई भन्दा धेरै दल मिलेर बहुमतको सरकार गठन गर्न आह्वान गरेका थिए ।

      उनले नयाँ सरकार दाबी गर्न बिहीबार अपरान्ह ४ बजेसम्म समय दिएका छन् । प्रदेश प्रमुखले दिएको समयभित्रै नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी पार्टीका सांसदले हस्ताक्षरसहित सरकार दाबी गर्न जाने बताएका छन् ।

        कमेन्टहरु