गण्डकी प्रदेश

    बालविवाह न्यूनीकरण गर्ने प्रतिबद्धता जनाएर मात्र भर्ना

    नवलपुर टुडे
    २०८० बैशाख ११ | बिहान ११:०१ बजे

      ढोरपाटन । जिल्लाको सबैभन्दा दुर्गम मानिने तमानखोला गाउँपालिकामा हरेक वर्ष बालविवाह गर्ने बालबालिकाको संख्या बढ्दै गएको छ।

      गाउँपालिकाले पाँच वर्ष अगाडि बालविवाह न्यूनीकरण अभियान सञ्चालन गरेको थियो। अभियानले बालविवाह केही कम गराए पनि अहिले फेरि पुरानै अवस्था पुगेको छ। अभियान सञ्चालनका वर्ष छ जोडीलाई गाउँपालिकाले छुटाई दिएको थियो। पछिल्लो समय कक्षा ८, ९ र १० मा पढ्ने बालबालिकाले विवाह गरिरहेको पाइएको छ।

      बालविवाह बढ्दै गएपछि यहाँका विभिन्न विद्यालयले भर्ना गर्न आउने अभिभावक र विद्यार्थीलाई प्रतिबद्धता जनाएर मात्रै भर्ना गर्न थालेको छ। वडा नम्बर २ स्थित जनजागृति माध्यमिक विद्यालय, वडा नम्बर ३ स्थित धन गौ ज्योति माध्यमिक विद्यालय, वडा नम्बर ५ स्थित शान्ति माध्यमिक विद्यालय लगायतले प्रतिबद्धता गराएर मात्रै विद्यार्थी भर्ना गरेका छन्।

      जिल्लाको सबैभन्दा दुर्गम मानिने तमानखोला गाउँपालिकामा हरेक वर्ष बालविवाह गर्ने बालबालिकाको संख्या बढ्दै गएको छ।

      भर्ना गर्नुपूर्व नै अभिभावक र विद्यार्थीलाई भर्ना फारममा सही गर्न लगाएर प्रतिबद्ध नाइएको तमानखोला गाउँपालिका-३ स्थित धन गौ ज्याती माध्यमिक विद्यालयमा प्रधानाध्यापक रवीन्द्रकुमार बुढा मगरले बताए।

      उनले पालिकाका अन्य विद्यालयमा पछिल्लो समय धेरै बालबालिकाले विवाह गरिरहेको हुँदा विद्यार्थी र अभिभावकलाई सचेत बनाउन भर्ना फारमको ढाँचा नै परिवर्तन गरी भर्ना हुन आउनेलाई प्रतिबद्धता जहेर गर्न लगाइएको बताए।

      बालविवाहसम्बन्धी जनचेतनामूलक कार्यक्रम गर्दै आएको हुँदा यस विद्यालयमा पहिलेको तुलनामा धेरै घटेको प्रअ बुढा मगर बताउँछन्।

      उनी भन्छन्, ‘विगतमा धेरै बालबालिकाले विवाह गरे, अबदेखि कुनै पनि विद्यार्थीले बालविवाह नगरोस् र अभिभावकले आफ्ना नानी बाबुलाई सचेत र सजग बनाउन भन्ने हिसाबले यो शैक्षिक सत्रदेखि भर्ना गर्ने बेलामै अभिभावक र विद्यार्थीलाई सँगै राखेर सचेत बनाउने र प्रतिबद्धता व्यक्त गर्न लगायौं, यसले बालविवाह रोकथाममा कही टेवा पुग्ने अपेक्षा गरेका छौं।’

      बालविवाह सम्बन्धी जनचेतनामूलक कार्यक्रम गर्दै आएको हुँदा यस विद्यालयमा पहिलेको तुलनामा धेरै घटेको प्रअ बुढा मगर बताउँछन्।

      तमानखोला–५ खुङ्खानीस्थित शान्ति माध्यमिक विद्यालयमा अध्ययन गर्ने तीन÷चार जोडी विद्यार्थीले बालविवाह गर्ने गरेका छन्।

      गत शैक्षिक सत्रमा मात्रै छ जना (तीन जोडी) बालबालिकाले विवाह गरेको विद्यालयमा प्रधानाध्यापक सत्यनारण सिंहले बताए।

      उनले पटकपटक अभिभावक र विद्यार्थीलाई बालविवाहबारे सचेत बनाए पनि कमी आउन नसकेको बताए।

      ‘बालविवाह रोक्नका लागि धेरै प्रयास गर्‍यौं,गाउँपालिका पनि निकै लाग्यो, केही समय त रोकिन्छ तर पछि उस्तै अवस्था आइहाल्छ, अहिले पनि गर्दैछन् भन्ने सुनिएको छ’, उनले भने, ‘जसले बालविवाह गर्छ, उसलाई कानुनी दायरामा ल्याउने विद्यालयले एउटा कार्य विधि बनाएको छ, गाउँपालिका, विद्यालय व्यवस्थापन समिति लगायतसँग सहकार्य गरेर न्यूनीकरणमा लागेका छौं।’

      उनले यहाँ सबैभन्दा बढी दलित समुदाय रहेको र विदेश जाने तथा अरुको लहलहैमा लागेर विवाह गर्ने प्रचलन रहेको बताए। आर्थिक अवस्था कमजोर, पुरानो रीतिरिवाजका कारणले गर्दा बालविवाह रोग्न चुनौतीपूर्ण रहेको उनको भनाइ छ।

      वडा नम्बर २ बोङ्गादोभानस्थित जनजागृति माध्यमिक विद्यालयमा गत वर्ष छ जना बालबालिकाले विवाह गरेको प्रधानाध्यापक बेदबहादुर बुढा मगरले बताए।

      उनले बालविवाह रोक्नका लागि अभिभावक र विद्यार्थीबीच समयसमयमा अन्तक्र्रिया गर्ने, सचेत बनाउने र किशोरी शिक्षा दिने गरिएको बताए।

      तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले बालविवाह अन्त्य गर्न गाउँपालिकाले अभियान थाल्ने बताए।

      उनले यहाँ सबैभन्दा बढी दलित समुदाय रहेको र विदेश जाने तथा अरुको लहलहैमा लागेर विवाह गर्ने प्रचलन रहेको बताए।

      अघिल्लो कार्यकालको सुरुमै बालविवाह न्यूनीकरणका लागि निर्वाध रुपमा लागेको हुँदा केही कम भए पनि अहिले फेरि समस्या आइरहेको बताए।

      उनले गाउँगाउँ र विद्यालयमै पुगेर बालविवाहबारे अभिभावक र बालबालिकालाई सचेत गराउने बताए।

      उनी भन्छन्,‘भौगोविक विकटताका कारण अशिक्षा, गरिबी लगायतका कारणले यहाँ बालविवाह हुने गरेको छ, पहिलेपहिले १५/१६ वर्षमै विवाह गर्ने, चलन थियो, अहिले पनि त्यसैले निरन्तरता पाएको छ, यसलाई भङ्ग गर्न हामीले केही कसरत गरेका छौं, तत्कालै नभए पनि केही समयमा बालविवाहको अन्त्य हुनेमा हामीहरु आशावादी छौँ, शिक्षाको पहुँचमा नभएका बालबालिका र अभिभावकलाई बुझाउने काम पनि भएको छ।’ रासस

        कमेन्टहरु