नवलपरासीमा मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किदा बालकसहित तीन जना घाईते


नवलपरासी, वैशाख ९ । नवलपरासीमा मोटरसाइकल र स्कुटर आपसमा ठोक्किदा एक बालकसहित ३ जना घाइते भएका छन् ।
शनिबार बेलुका साढे सात बजेतिर जिल्लाको रामग्राम नगरपालिका – १० नदुवास्थित हुलाकी सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको लु ६१ प ३३६० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा ७१ प ७४१९ नम्बरको स्कुटर एक आपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा बाटोमा खेलिरहेको बालकलाई समेत ठक्कर दिई घाइते बनाएको हो । घाइते हुनेहरुमा मोटरसाइकल चालक रुपन्देही सिद्दार्थ नगरपालिका बस्ने अन्दाजी ३८ वर्षीय राजेन्द्र क्षेत्री, स्कुटर चालक काठमाण्डौ महानगरपालिका – ३० बस्ने अन्दाजी २९ वर्षीय डा. सन्दिप सापकोटा र बाटोमा खेलिरहेका नवलपरासीको रामग्राम – १० नोदवा बस्ने संजय कुमार जयसवालको छोरा अन्दाजी ६ वर्षीय शिबाय जयसवाल रहेका छन् ।
क्षेत्रीको खुट्टा फ्याक्चर भएको, सापकोटाको दुबै खुट्टामा चोट लागेको र शिबाय जयसवालको शरीरको बिभिन्न भागमा चोट लागेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी भोजराज पाण्डेले जानकारी दिए । उनीहरुको जिल्ला अस्पताल परासीमा सामान्य उपचार पश्चात थप उपचारको लागी सिद्दार्थ सिटी अस्पताल भैरहवा रुपन्देही पठाईएको उनले बताए ।
घटनास्थलमा प्रहरी सहायक निरीक्षक चाम बहादुर ओलीको कमाण्डमा ट्राफिकसहित ५ जनाको टोली खटिएको डीएसपी पाण्डेको भनाई छ । घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।





