नवलपुर प्रहरीले भन्सार छली ल्याएको ३५ लाख भन्दा बढी अबैध सामान बरामद


नवलपुर- भन्सार छली नेपाल भित्र्याएको विभिन्न सामग्री जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीले बरामद गरेको छ। शुक्रबार साँझ भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरेको करिब रु ३६ लाख बराबरको सामग्रीसहित ग २ ख १५०३ नंको ट्रक प्रहरीले बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सन्तोष पठकले प्रहरीले सुरक्षा जाँच गर्ने क्रममा भन्सार छली चोरी पैठारी गरी ल्याइएको कुर्ता सुरुवाल, सल, टप्स, कुर्ता सेट, लाइटर, हुक्का फेलेवर, गोट्टीवाला रेन्ची, पूजा थाली, विभिन्न ब्रान्डका एन्ड्रोयड मोबाइल फोन, शरीरमा लगाउने अत्तर, तेल, मालाको दाना, केमिकल, रोलगोलको तिलहरि, झुम्का, चन्द्रमा, मङ्गलसुत्र पोते, ब्रासलेट, सिरबन्दी रानीहार, सेतो माला औँठी, बाला, साडी, ढाकाको कपडा, ४५ किलो दरको युरिया मल दुई सय २० बोरा बरामद गरेको जानकारी दिए।
प्रहरीले शुक्रबार बरामद गरेको सामग्रीको मूल्य अन्दाजी रु ३५ लाख ९१ हजार २२ रुपियाँ रहेको पाठकले बताए। प्रहरीले बरामद गरेको सामग्रीसहित ट्रकलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्लाको त्रिवेणी भन्सार कार्यालय पठाइएको जानकारी दिए।
साथै प्रहरीले चालु आर्थिक वर्षको हालसम्म अवैध सामग्री बरामद गरी रु पाँच करोड एक लाख ७७ हजार राजस्व सङ्कलन गर्न सफल भएको पाठकले बताए।





