धर्म–संस्कृति/रीतिथिति

    मुस्लिम समुदायको पर्व इद (इदउल फित्र) को अवसरमा प्रधानमन्त्री दाहालको शुभकामना

    नवलपुर टुडे
    २०८० बैशाख ९ | बिहान ०७:०१ बजे
    file picture

      ऐतिहासिकता, पहिचान र संस्कृतिको प्रतिनिधित्व गर्दछ : प्रधानमन्त्री प्रचण्ड
      काठमाडाैँ, वैशाख ९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुस्लिम समुदायको चार्ड इद (इदउल फित्र) पर्वको अवसरमा इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको कामना गरेका छन् । इदका अवसरमा आज शुभकामना दिँदै उनले मुस्लिम समुदायले यस पर्वलाई आपसी सद्भाव, सहकार्य, विश्वास एवं साझा उद्देश्य प्राप्तिको महत्त्वपूर्ण अवसरका रूपमा मनाउँदै आएको उल्लेख गरे ।

      प्रधानमन्त्री दाहालले शुभकामना सन्देशमार्फत भनेका छन् -‘बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषतायुक्त नेपाल र नेपाली समाजका निम्ति ईद लगायतका पर्वहरू कुनै समुदाय विशेषका मात्र पर्व नभएर राष्ट्रिय पर्वका रूपमा स्थापित छन् । हरेक चाडपर्वहरूको आफ्नो ऐतिहासिकता र विशिष्ट महत्त्व हुने गर्दछ । मानव जातिले जीवनवृत्तिका क्रममा प्राप्त गरेका अनुभव, शिक्षा र ज्ञानको समुच्चय प्रक्रियाबाट नै चाडपर्वहरू विकसित र स्थापित हुँदै आएका छन् । ईद पनि यस्तो एउटा पर्व हो, जसले मुस्लिम समुदायको ऐतिहासिकता, पहिचान र संस्कृतिको प्रतिनिधित्व गर्दछ ।’ 

      ईद पर्वले संविधानको प्रभावकारी कार्यान्वयनमार्फत बलियो राष्ट्रिय एकता, समुन्नत एवं समृद्ध नेपाल निर्माण गर्ने राष्ट्रिय अभियानमा थप प्रेरणा प्रदान गर्ने विश्वाससहित मुस्लिम समुदाय लगायत सम्पूर्ण नेपालीहरूमा उनले शुभकामना व्यक्त गरेका छन् । 

        कमेन्टहरु