समाचार

    विज्ञापन एकद्वार प्रणालीमा लैजाने प्रयास : सञ्चारमन्त्री

    नवलपुर टुडे
    २०८० बैशाख ८ | मध्यान्ह ०४:०१ बजे

      काठमाडौँ । सञ्चार, सूचना तथा प्रविधि मन्त्री रेखा शर्माले सबै विज्ञापन एकद्वार प्रणालीमा लैजाने प्रयास भइरहेको बताएकी छन् ।

      नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले मन्त्री शर्मालाई सिंहदरवारमा ज्ञापनपत्र बुझाउने क्रममा उनले यस्तो बताएकी हुन् । ‘सबै विज्ञापनलाई एकद्वार प्रणालीमा लग्ने सोचिएको छ । यसो हुँदा विज्ञापनमा हुने चुहावट रोकिने छ । विज्ञापनमा चुहावट भएर ९० प्रतिशतसम्म डिस्काउन्ट दिएर मिडियामा छापिने रहेछ । विज्ञापन लग्ने र दिने मिले केही नहुने रहेछ’ शर्माले भनिन्, ‘अब विज्ञापनको सवालमा यस्तो हुँदैन ।

      पत्रकारिता पेशा र पत्रकारलाई बलियो बनाउन विज्ञापन एकद्वार प्रणालीमा जाने छ । विज्ञापनमा हुने चुहावट रोकिएमा मिडियामा न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षा कोषमा जान समस्या हुँदैन ।’ संघीय सरकारदेखि प्रदेश र स्थानीयतहमा विज्ञापन एकद्वार प्रणालीमा कसरी लग्न सकिन्छ भन्ने विषयमा सुझाव दिने शर्माले आग्रह गरिन् । वैदेशिक रोजगारीमा भएका श्रमिक सामाजिक सुरक्षा कोषमा समेटिए पनि पत्रकारहरु नसमेटिनु दुःखद भएको शर्माले बताइन् ।

      ‘वैदेशिक रोजगारीमा भएका कामदारलाई सामाजिक सुरक्षा कोषमा समेटि सकिएको छ । अब पत्रकारलाई सामाजिक नसमेट्ने भन्ने हुँदैन । नीतिगत रुपमा व्यवस्था गरेर सबै पत्रकारलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन पहल गरिने छ’ शर्माले भनिन् । पत्रकारिता पेशालाई व्यवस्थित र मर्यादित बनाउन सक्रिय पत्रकारलाई मात्रै पत्रकार महासंघमा समेट्न शर्माले सुझाव दिएकी छन् ।

        कमेन्टहरु