कर्णाली करिडोरलाई आगामी बजेटमा प्राथमिकतामा राख्छौं : रक्षामन्त्री खड्का


काठमाडौँ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले आगामी आर्थिक वर्षको बजेटमा कर्णाली करिडोरलाई प्राथमिकतामा राखिने बताएका छन् ।
सुर्खेत विमानस्थलमा शुक्रबार पत्रकारसँग कुरा गर्दै खड्काले कर्णाली करिडोरको सडकलाई राष्ट्रिय प्राथमिकताको राखेर बहुवर्षीय योजनामा अगाडि बढाउने योजना रहेको बताएका हुन् ।
‘अहिले मुलुकको अर्थतन्त्रको अवस्था अप्ठ्यारो छ त्यसका बाबजुत पनि कर्णाली करिडोरको सडकलाई राष्ट्रिय प्राथमिकताको राखेर बहुवर्षीय योजनामा अगाडि बढाउने योजनामा छौं,’ खड्काले भने । यसका लागि कर्णालीबाट संघमा प्रतिनिधित्व गर्ने सबै मन्त्रीहरुले प्राथमिकताका साथ काम अगाडि बढाउनुपर्ने उनको भनाइ छ ।
साथै, हाल रत्नराजमार्गको सडकको डीपीआर तयार भइ अगाडि बढाउने काम भएको र वीरेन्द्रनगर तेलपानी भुरीगाउँ सडकलाई पनि प्राथमिकतामा राखेको उनको भनाइ छ ।
कर्णाली र सुदूरपश्चिमलाई संघीय बजेटबाट धेरै पछाडि पार्ने चलन भएको भन्दै अब यी प्रदेशमा बजेटको प्राथमितामा पारिने बताए । उनले वैशाख १० मा हुन लागेको उपनिर्वाचनपछि संघीय सरकारले पूर्णता पाउने पनि बताए ।
‘यस बीचमा सर्वोच्च अदालतको प्रधानन्याधीशको नियुक्ति, सुनुवाइ समितिको निर्माण, संवैधानिक परिषद्सँगसम्बन्धित ऐन पेश भइसकेको छ त्यसलाई पनि अघि बढाउने गरी प्रक्रिया अघि बढेको छ,’ उनले भने ।





