गुल्मीमा डढेलो निभाउने क्रममा जलेर गम्भीर घाइते भएका बालकको मृत्यु

नवलपुर टुडे
२०८० बैशाख ८ | बिहान ०९:०१ बजे

गुल्मी, वैशाख ८ । गुल्मीमा डढेलो निभाउने क्रममा जलेर गम्भीर घाइते भएका बालकको मृत्यु भएको छ ।
गएराती बर्दवासको जंगलमा लागेको डढेलो निभाउने क्रममा जलेर घाइते भएका धुर्कोट गाउँपालिका–३ हाडहाडेका १३ वर्षीय दीपक मुखियाको उपचारका क्रममा आज बिहान मिसन अस्पताल पाल्पामा ज्यान गएको हो ।
बर्दवास जङ्गलमा लागेको डढेलो बस्तीमा आउन थालेपछि मुखिया परिवारसहित आगो निभाउन गएका थिए । सोही घटनामा हाडहाडेकै ५५ वर्षका धनबहादुर कुँवर घाइते भएका छन् ।
उनलाई पाल्पामा उपचार हुन नसकेपछि आज बिहान थप उपचारका लागि बुटवल रेफर गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रवक्ता डिएसपी डिल्लीनारायण पाण्डेले जानकारी दिए ।





