आमाकाे मायाँ नपाएकाे मलाई मातातिर्थ औँशी सँधै तुवाँलाेले ढाकेकाे आकाश


भक्तपुर । हरेक बर्ष आजैको दिन मलाई फेसबुक, टिकटक र टुईटर जस्ता सामाजिक संजाल चलाउनै मन लाग्दैन । यस्ता सामाजिक सञ्जालहरुमा सबैका आमाकाे तस्बिर र आमासँगै रमाएकाे तस्विरहरुले मन नरमाइलो बनाइ दिन्छ ।
त्यसैकारणले सकेसम्म सामाजिक संजालमा अरु दिनभन्दा आजकाे दिन खासै सक्रिय रहन्न । यो मेरो हरेक वर्षको पीडा हो । आजको दिन सबैले आफनाे आमालाई भेट्ने गर्दछन् । मिठो मसिनो खुवाउँदै आमालाई उपहार दिनुका साथै धार्मिक स्थल लगायत रमणिय स्थानहरुमा घुमाउन लैजाने गर्छन् ।
तर, मेराे भने हरेक बर्ष याे दिन अलिक फरक तवरले बित्ने गर्दछ । कहिल्यै आकृतिसमेत नदेखिएकाे मेरे आमालाई सम्झिएर म मेराे भावनाहरु लेख्दैछु ।
आमा…
मैले यो शब्दलाई कहिल्यै सम्बोधन गर्न पाइन । आमा भनेर हृदयबाट कसैलाई बोलाउन सकिन । कति अभागी रहेछु । आमा शब्द आफैंमा कति गहन छ अनि कति महान पनि । एउटा व्यक्तिले आफ्नो जीवनबाट आमा गुमाउनु पर्दाको पीडा कति हुन्छ त्यो सायद सबैको कल्पना भन्दा निकै बाहिर हुन्छ । हुन त म जन्मदै एक्लो बनाएर गए पनि अरुकाे आमा र तिनकाे छाेराछाेरी बीचकाे प्रगाढ मायाँ देखेर मलाई आमाको यादले झस्काउँछ।
हरेक बर्षकाे मातातिर्थ औंशीको दिनमा झनै बढि नै आमाकाे कमि महसुस गर्दछु । सबैले आजको दिन आफ्नो आमाको लागि खर्च गरेका हुन्छन् । सकेसम्म सबैले आफ्नो आमालाई भेटेर आर्शिवाद लिने गर्छन् तर, मैले त तपाईको तस्विर अगाडी बस्ने अवसरसमेत पाईन ।
केही बर्षदेखि म संचारकर्मीमा छु । यी बर्षहरुमा मैले धेरैकाे तस्बिर र भिडियोहरु कैद गरेकाे छु । तर, भारी मनका साथ भन्नू परेकाे छ आफ्नै आमाको एउटा तस्बिरसम्म मेरो साथमा नहुँदाको पीडाको आकार म यो लेखमा उर्तान सक्दिन ।
म ७ दिनको हुँदा मैले मेराे आमालाई सदाको लागि गुमाए । मेराे आमा समान दिदिहरुले मलाई हुर्काए बढाए भने मलाई अहिलेकाे अवस्था सम्म आउन प्रेरणा र शिक्षाकाे अनि असल बुबाकाे आशिर्वाद रह्याे । त्यतिबेला त म बालपनमा थिएँ । त्यो पीडाले मलाई खासै छोएन पनि होला । अहिले जति उमेर बढ्दै गएको छ उति नै मलाई शुन्यता र अभिभावकत्वको कमि महशुस हुन्छ । आमा विनाको जीवन म भोगिरहेको छु । आमा नहुँदाको एक्लोपन अनि रङ्गहीन लाग्ने जीवन । म आफुले आमाकाे अनुभव गर्न त्याे साैभागय गुम्याे तर कराेडाैँ आमाकाे सन्तानहरुले आमा र सन्तान बीचकाे मायाँ देखेर महसुस हुन्छ कि आमाकाे मायाँ त यस्ताे रहेछ।
मेराे आमाले मलाई पाँचौ सन्तानको रुपमा यस धर्तीमा जन्म दिनु भएको थियो । त्याे सङ्घर्षकाे दिनहरु छिचाेलदै टुहुरा टुहुरी छाेराछाेरीकाे स्याहार चाकरमै रमाउनु भएकाे मेराे बुबा महान हुनुहुन्छ ।
पढियाे बढियाे ब्यवहारिक जीवन त जिइरहेकाे छु तर पनि हरेक बर्ष आजकाे दिनले मलाई धेरै फरक अनुभुत गराउँछ। अहिले मेराे छाेरा छाेरीले उनीहरुकाे आमा (मेरी श्रीमती) लाई आमा भनेको शब्द सुन्दा र आमाले सन्तानलाई दिएको प्रेम देख्दा मलाई निकै लोभ लाग्छ । बाँचुन्जेल भौतिक सुख, सुविधा दिन सकिन । आज मेरी आमा मसगैं भएको भए म कति खुसी र सुखी हुन्थे होला भन्ने मनमा जागिरहन्छ ।
संसार हाे यहाँका हरेक मानिस स्वार्थी छन् र त्यसमा म पनि पर्दिँन भन्न सक्दिन, साचै आमा हुनेलाई भन्दा आमा गुमाउनेलाई आमाको महत्व बढि नै हुदो रहेछ ।
कहिले काँहि मन हतास र निराश हुँदा आमाको तस्विर हुँदो हो त म पनि त्यहि तस्बिर पनि मन अल्मल्याउने अमुल्य बस्तु हुन्थयाे । मेरा साथीहरु भन्छन् – ‘आमाको मायामा जादु हुन्छ । आमाको काख र साथ स्वर्ग हो । अनि उनीहरुको अनुहारमा छचल्कने खुशी, आफूमा खोज्दछु तर पाउँदिन । आमासँगका तितामिठा पलहरु मेरो सम्झनामा छैनन् । किनकी आमाको स्वर्गबास हुँदा म केवल सात दिनकाे थिएँ ।
आमा विनाको हरेक वर्षको मेरो मातातिर्थ औंशी फिक्का भएको छ अनि मुल्यहिन पनि । यद्यापि आमाले उपहार स्वरुप दिएर जानुभएको मेरो जीवन बाँकी छ । यो बाँकी जीवन आमाप्रति श्रद्धाभावका साथ समर्पित हुदै सकारात्मक तथा उर्जाशिल जीवन बनाउनु छ । जसमा मेराे आमा र बुबा दुबैकाे एकल मेराे सहारा बुबा हुनु हुन्छ।
लेखक: दिपेश श्रेष्ठ





