नवलपुरको देवचुलीमा ग्यास सिलिन्डर पड्केर आगलागी हुदा ३ लाखबढीको क्षति


नवलपुर, बैशाख ६ । पुर्वी नवलपरासीको देवचुली बेकरीमा ग्यास सिलिन्डर पड्केर आगलागी भएको छ । आज दिउँसो १:३० बजे सिलिन्डर पड्केर देवचुली नगरपालिका- १४ सहारा चोकस्थित रहेको देवचुली बेकरी र नजिकै रहेको पार्वती शाहीको पराल राखेको टौवामा आगलागी भएको हो ।
आगलागी नियन्त्रणका लागि अस्थायी प्रहरी पोष्ट दलदलेबाट प्र.स.नि.कृष्ण प्रसाद लामिछानेको कमाण्डमा ४ जनाको टोली, दमकल र स्थानीयको सहयोगमा दिँउसो २:३० बजेको समयमा आगो पुर्णरुपमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका सुचना अधिकारी सन्तोष पाठकले नवलपुर टुडेलाई जानकारी दिएका छन ।
उक्त आगलागीबाट बेकरीमा भएको पाउरोटी, मैदा, तेल, घ्यु, केमिकल लगायतका सामान गरी अन्दाजी रु.३,००,०००।– (तीन लाख रुपैँया) र पार्वती शाहीको टौवामा रहेको आधा ट्रक पराल अन्दाजी मूल्य रु.१८,०००।– (अठार हजार रुपैँया) बराबरको क्षति भएको पाठकले बताए ।





