पाल्पा दरबारलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न आसपासका ५७ वटा घरटहरा हटाइए


पाल्पा, वैशाख ६ । पाल्पाको तानसेन नगरपालिका–४ मख्खनटोल, शित्तलपाटी क्षेत्रका ५७ वटा घरटहरा हटाइएको छ । तानसेन नगरपालिकाले तेर्सोसडक तथा सित्तलपार्टी मूलढोका क्षेत्रका ५७ वटा पसल तथा घरटहरामा बुधबार विहान ७ बजेदेखि डोजर चलाएको हो ।
पाल्पा दरबारलाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्न र पर्यटकीय स्थलको रुपमा विकास गर्न त्यस आसपासका घरटहरा हटाइएको तानसेन नगरपालिकाका कार्यवाहक प्रमुख प्रतिक्षा सिंजालीले जानकारी दिनुभयो । संरचना हटाउन नगरपालिकाले तीन वटा डोजर, माटो सफा गर्ने पानीको फोहोरा, सामान उठाउने ट्रक तथा अन्य बस्दोबस्तीका सामान प्रयोग गरिरहेको तानसेन नगरपालिकाका प्रवक्ता यादबसिंह कार्कीले बताउनुभयो ।
नगरपालिकाले व्यापारी तथा व्यवसायीलाई ३५ दिने सूचना जारी गरेको थियो । सूचना अनुसार व्यवसायीले सामान मंगलबार बेलुकी नै हटाइसकेका थिए । घरटहरा हटाएपछि तत्कालै त्यस स्थानमा सरसफाई गर्ने र दरबार परिसरको ऐतिहासिकता कायम गरि सुन्दर बनाउने नगरपालिका र पुरातत्व विभागको योजना रहेको जनाइएको छ । बुधबार बेलुकीसम्म पस्न र बस्न नमिल्ने गरी पसल तथा टहरा भत्काइने नगरपालिकाले जनाएको छ ।
तानसेन नगरपालिकाको स्वामित्वमा रहेको जग्गामा नगरपालिका तथा अन्य सामाजिक संस्थाहरुले सटर भाडामा लगाएका थिए ।





