गुल्मीमा आगलागीबाट चार गाेठ जलेर नष्ट, एक जना घाइते


गुल्मी, बैशाख ५ । गुल्मीको छत्रकोट गाउँपालिका–२ पल्लिकोटस्थित रानीवनबाट लागेको आगो बस्तीमा पसेपछि चार गोठ जलेर नष्ट भएका छन्, भने स्थानीय ७१ वर्षका सूर्यबहादुर रजालीका हात खुट्टा जलेर घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नवीन किशोर प्रधानले जानकारी दिए।
उनको शृंगा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। आगोले छत्रकोट गाउँपालिका वडा नं २ डांग्रे बस्ने वर्ष ४७ वर्षकी खिमा रजालीको २ तले गोठ पूर्ण रूपमा जलेको छ।
त्यस्तै, आगोले सोही स्थानका ४७ वर्षीय दुर्गाबहादुर रजालीको गोठसँगै एउटा बोकाे मरेको छ। सोही ठाउँकै ४० वर्षीया रूपा बलाले र ४० वर्षीय कुलबहादुर रजालीको गोठ जलेर पूर्ण रूपमा नष्ट भएको प्रहरीले जनाएको छ।
रुरु गाउँपालिका र इस्मा गाउँपालिकाका विभिन्न स्थानमा पनि आगलागी भएको प्रहरी उपरीक्षक प्रधानले बताए । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले थप क्षति हुन नदिन आगलागी नियन्त्रणको प्रयास गरिरहेका छन्।





