समाचार

    सहरी विकास मन्त्रालयले आफैं उठाउन थाल्यो सिंहदरबारको फोहोर

    नवलपुर टुडे
    २०८० बैशाख ५ | मध्यान्ह ०५:०१ बजे

      काठमाडौं, वैशाख ५ । सहरी विकास मन्त्रालयले सिंहदरबार परिसरको फोहोर उठाउन थालेको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सिंहदरबारको फोहोर नउठाउने अडान लिएपछि मन्त्रालयले आफैं फोहोर उठाउन थालेको हो ।

      महानगरपालिकाले फोहोर नउठाउने घोषणा गरेपछि तत्कालीन समाधानका लागि भन्दै मन्त्रालय अन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले फोहोर व्यवस्थापनका लागि परिवर्तन सेवा प्रा.लि. नामक संस्थासँग सम्झौता गरी फोहोर उठाउन थालेको हो । महानगरपालिकाले फोहोर उठाउन छोडेपछि सहरी विकासमन्त्री सीता गुरुङले समस्या समाधान नहुञ्जेल वैकल्पिक उपायबाट फोहोर व्यवस्थापन गर्न संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयलाई निर्देशन दिएकी थिइन् ।

      मन्त्रीस्तरीय निर्णयका आधारमा कार्यालयले परिवर्तन सेवासँग सम्झौता गरेर फोहोर उठाउन थालेको हो । मन्त्री गुरुङले काठमाडौं महानगरपालिका आफ्नो जिम्मेवारीबाट पछि हटेको अवस्थामा सिंहदरबारलाई फोहोरबाट दुर्गन्धित हुन नदिन वैकल्पिक उपाय रोज्नुपरेको बताइन् ।

        कमेन्टहरु