चितवनमा एक जना बेवारिसे व्यक्तिको उद्धार


भरतपुर । सरसफाइ तथा पुनर्उपयोगी वस्तु व्यवसायी संघले एक जना बेवारिसे व्यक्तिको उद्धार गरेर उपचारका लागि भरतपुर अस्पताल पठाएको छ ।
सोमबार भरतपुर–३, नारायणगढबाट बेवारिसे अवस्थामा रहेका एक जना पुरूषलाई वडा प्रहरी कार्यालय नारायणगढका प्रमुख एवम् प्रहरी निरीक्षक गोपाल पौडेललगायतको रोहवरमा भरतपुर अस्पताल पुर्याइएको संघका सचिव पुरन मल्ल ठकुरीले जानकारी दिए ।
बिरामी अवस्थामा रहेका व्यक्तिको नाम, थर र वतनसमेत खुल्न नसकेको हुँदा भरतपुर अस्पतालको सामाजिक सुरक्षा इकाइमार्फत उपचारका लागि समन्वय गरिएको उनले बताए ।
सडकमा जीवन र मृत्युसँग संघर्ष गरिरहेका बेवारिसे व्यक्तिलाई नयाँ जीवन दिलाउन संघले यसअघिदेखि नै पहल गर्दै आइरहेको छ ।
सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा संस्थामार्फत काम गर्दा बढी प्रभावकारी हुने भएकाले संस्थामार्फत संगठित भएर सामाजिक कार्यमा लागेको संस्थाका अध्यक्ष शंकरबहादुर खत्री क्षेत्रीले जानकारी दिए ।





