चन्द्रबहादुर थापा नेतृत्वको राष्ट्रवादी केन्द्रद्वारा आमहडतालसहितको आन्दोलन घोषणा


काठमाडौँ । चन्द्रबहादुर थापा नेतृत्वको राष्ट्रवादी केन्द्र नेपालले विभिन्न ७ बुँदे माग राख्दै वैशाख ११ गतेबाट अनिश्चितकालीन आमहडतालको घोषणा गरेको छ ।
सोमबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर अध्यक्ष थापाले देश र आम जनता सङ्कटमा पर्दै गर्दा पनि सरकारले नसुनेको भन्दै भद्र अवज्ञा आन्दोलनको घोषणा गर्नुपरेको बताएका हुन् । उनले आमहडताल शान्तिपूर्ण हुने भन्दै भने, “यसअघि बारम्बार उद्योगी व्यवसायी र आमजनताका समस्या समाधानको लागि ध्यानाकर्षण गराउँदा पनि सरकारले सुनेन अब बाध्य भएर आन्दोलनमा उत्रेका छौँ ।”
अहिले शान्तिपूर्ण आन्दोलन गरेर माग पूरा गराउने तर त्यसरी सरकारले नसुने व्यवस्थाविरुद्धको कठोर संघर्षमा जाने चेतावनी थापाले दिए ।
देश र जनताको दुस्मन दलाल संसदीय व्यवस्था भएको भन्दै थापाले विकल्पमा जननिर्वाचित राष्ट्रपति र जनपक्षीय सत्ताको स्थापनाका लागि संघर्षमा घोषणा गरिएको बताए ।





