गण्डकी प्रदेश

    संसदको गाडीमा गण्डकीका कानुनमन्त्रीको ‘कब्जा’, छोराले लिन्छन् बुवाको सुविधा

    नवलपुर टुडे
    २०८० बैशाख ४ | बिहान ०९:०१ बजे

      पोखरा । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रोशनबहादुर गाहा थापाले दोहोरो सवारी सुविधा प्रयोग गरिरहेका छन् । उनले मन्त्री भएबापतको एउटा झण्डावाला गाडी र अर्को प्रदेशसभाको एमाले संसदीय दलको प्रमुख सचेतकको हैसियतमा पाएको गाडी दुवै प्रयोग गरेका हुन् ।

      मन्त्री हुनुभन्दा अगाडि उनलाई संसदीय दलका नेता एवं मुख्यमन्त्री खगराज अधिकारीले पुस २८ गते दलको प्रमुख सचेतकको जिम्मा दिएका थिए । प्रमुख सचेतक भएपछि उनले संसदबाट ग १ झ ४५१ नम्बरको सेतो नम्बर प्लेटको गाडी लिए । माघ १० गते मन्त्री नियुक्त भएपछि पनि उनले संसदबाट पाएको गाडी फिर्ता गरेका छैनन् । आफूले ग १ झ ५६३ नम्बरको झण्डावाल गाडी चढेर स्वकीय सचिवसमेत रहेका छोरा ईश्वरजंग थापा मगरलाई त्यो गाडी दिएका छन् । 

      मन्त्री गाहाले आफूसँग दुईवटै गाडी रहेको स्वीकारे । तर, त्यसको दुरुपयोग नगरी सुरक्षित राखेको प्रतिक्रिया दिए । ‘मेरो जिम्मामा भएको गाडी सुरक्षित राख्नुपर्‍यो नि !,’ उनले भने, ‘त्यो सुरक्षित छ । कसैले चढेको छैन । मेरो ड्राइभरको नातीको पास्नी हुँदा एकपटक नवलपुर (गृहजिल्ला) गएको थियो । त्यसपछि कतै गएको छैन ।’

      संसद सचिवालयसँग पदाधिकारीलाई दिन भएकामध्ये गाहाले प्रमुख सचेतक हुँदा पाएको गाडी नयाँमध्येको हो । अहिले भइरहेको गाडी फिर्ता गर्दा आफू सरकारबाट बाहिरिएपछि प्रमुख सचेतकको हैसियतले पुरानो गाडी पाउन सक्ने भन्दै यो गाडी गाहाले फिर्ता गर्न नमानेको संसद सचिवालय स्रोत बताउँछ । 

      आगामी वैशाख ९ गते मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिँदै छन् । त्यसपछि सरकार ढल्ने र फेरि संसदीय दलकै प्रमुख सचेतक भएर अहिले ‘कब्जा’ गरेको नयाँ गाडी चढ्ने मन्त्री गाहाको योजना छ । उनले गाडी लिए पनि संसद सचिवालयबाट चालक र इन्धन सुविधा भने लिएका छैनन् । यसले पनि उनी त्यो नयाँ गाडी छोड्न चाहिरहेका छैनन् भन्ने पुष्टि गर्छ । 

      गण्डकी प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन, २०७४ को दफा २२ ले संसदबाट पदाधिकारीले पाएको सुविधा आफूले मात्र उपयोग गर्नुपर्ने व्यवस्था गरेको छ । तर, कानुन मन्त्रीले नै दोहोरो सुविधा लिएर, त्यो पनि आफ्नो छोरालाई दिएर ऐनको व्यवस्था बर्खिलाप गरिरहेका छन् । 

        कमेन्टहरु