देश

    आठौँपटक मन्त्रिपरिषद् विस्तार : परराष्ट्रमन्त्रीमा साउद, चपाईं राज्यमन्त्री नियुक्त

    नवलपुर टुडे
    २०८० बैशाख ४ | बिहान ०९:०१ बजे

      काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार आठौँपटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले कांग्रेस सांसद एनपी साउदलाई परराष्ट्रमन्त्री र एकीकृत समाजवादीकी सांसद नन्दा चपाईंलाई भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नियुक्त गरेका हुन् । एकीकृत समाजवादीकै प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायातमन्त्री छन् । 

      राष्ट्रपति पौडेलले साउदलाई आइतबार नियुक्तिसँगै मन्त्री पदको पद तथा गोपनीयताको शपथ गराएका छन् । यस्तै, राज्यमन्त्री चपाईंलाई भने राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्री प्रचण्डले शपथ गराए । 

      मन्त्रिपरिषद्ले अझै पूर्णता भने पाएको छैन । अझै पाँच मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीको काँधमा छ । कांग्रेसले नाम नपठाउँदा कानुन, न्याय तथा संसदीय मामिला, युवा तथा खेलकुद र स्वास्थ्य तथा जनसंख्या तथा जसपाले नाम पठाउन बाँकी वन तथा वातावरण र जनमत सरकारबाट बाहिरिएपछि खानेपानी मन्त्रालयमा मन्त्री नियुक्त हुन सकेको छैन । 

      परराष्ट्रमन्त्री साउदलाई भारतीय र पाकिस्तानी समकक्षीको बधाई
      नवनियुक्त परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदलाई भारतीय समकक्षी डा. एस जयशंकर र पाकिस्तानी समकक्षी विलावल भुट्टो जरदारीले बधाई दिएका छन् । उनीहरू दुवैले आइतबार सामाजिक सञ्जाल ट्विटरमार्फत बधाई दिएका हुन् । भारतीय विदेशमन्त्री जयशंकरले दुई देशबीचको बहुआयामिक साझेदारीलाई थप सुदृढ बनाउन समकक्षी साउदसँग मिलेर काम गर्न प्रतीक्षारत रहेको उल्लेख गरेका छन् । ‘नयाँ भूमिकाको सफलताका लागि हार्दिक शुभेच्छा छ,’ उनले भनेका छन् । 

      आइतबारै भारतीय राजदूत नवीन श्रीवास्तवले परराष्ट्रमन्त्री साउदसँग शिष्टाचार भेट गरेर बधाई दिएका छन् । परराष्ट्रमन्त्री साउदले आइतबार दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका थिए । सिंहदरबारमा पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका लागि तयारी गर्ने बताएका छन् । पाकिस्तानका विदेशमन्त्री विलावल भुट्टोले नवनियुक्त परराष्ट्रमन्त्री साउदलाई बधाई दिएका छन् । आइतबार ट्विटरमार्फत उनले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध थप बलियो बनाउने गरी सहकार्यका लागि प्रतीक्षारत रहेको उनले बताएका छन् । 

      भाजपा विदेश विभाग प्रमुख चौथाइवाले धनगढीमा
      भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाइवाले धनगढी आइपुगेका छन् । मानसखण्ड अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन उनी आइतबार स्थलमार्गबाट आएका हुन् । मानसखण्ड सम्मेलनको समापन समारोहमा सोमबार उनी सहभागी हुनेछन् । चौथाइवालेलाई धनगढीमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, भौतिक योजनामन्त्री प्रकाश देउवा, आर्थिक मामिलामन्त्री नरेश शाहीले स्वागतगरेका थिए । 

      सुदूरपश्चिम सरकारको सहयोग तथा सुदूरपश्चिम विश्वविद्यालय, भारत उत्तराखण्डको कुमाउ विश्वविद्यालयको संयुक्त आयोजनामा शनिबारदेखि मानसखण्ड अन्तर्राष्ट्रिय सम्मेलन भइरहेको छ । चौथाइवाले समापन समारोहमा प्रमुख वक्ताका रूपमा रहने कार्यक्रम छ । 

      समापन समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवा पनि सहभागी हुने कार्यक्रम छ । चौथाइवाले काठमाडौं हुँदै दिल्ली फर्किनेछन् । काठमाडौंमा उनले राजनीतिक दलका शीर्ष नेतासँग भेटवार्ता गर्ने भनिए पनि विस्तृतमा केही उल्लेख छैन । नयाँ पत्रीकामा खबर छ ।

        कमेन्टहरु