समाचार

    इलाममा आयोजित नयाँ वर्षको कार्यक्रममा ठेलमठेल हुँदा १७ जना घाइते

    नवलपुर टुडे
    २०८० बैशाख २ | बिहान ०७:०१ बजे

      इलाम, बैशाख ०२ । इलामको सदरमुकाममा भएको कार्यक्रममा अत्यधिक भिडका कारण भागदौड हुँदा एक दर्जनभन्दा बढी घाइते भएका छन् । सदरमुकाममा रहेको ठूलो टुँडिखेलमा आयोजित मेला र साङ्गीतिक कार्यक्रममा अत्यधिक भिडका कारण मानिसहरू च्यापिएपछि भागदौड हुँदा उनीहरू घाइते भएका हुन् ।

      घाइते हुनेहरूमा इनपा–७ का प्रज्ञा भट्टराई, प्रभा र लिलादेवी दर्नाल भट्टराई, सूर्योदय नगरपालिका–१४ की कुमारी लिम्बु, देउमाई नगरपालिका–६ की अन्जु राई, सूर्योदय–१४ का मिलन लिम्बु, देउमाई–२ की प्रविना राई, फाकफोकथुम गाउँपालिका–७ की दृष्टि भुजेल, फाल्गुनन्द गाउँपालिका–५ का सन्दीप चेम्जोङ, सोही गाउँपालिकाका वडा नम्बर २ की टेकमाया राई, इनपा–५ की काजल राई, इनपा–७ का रमेश बुढाथोकी, इनपा–८ का सुनिता तामाङ र लक्की शेर्पा र फाकफोकथुम गाउँपालिका–२ का नाबालक साजन राई रहेका छन् । 

      घाइतेहरूको इलाम अस्पताल र झापाको बी एन्ड सी अस्पतालमा उपचार भइरहेको छ । इलामका सांसद महेश बस्नेत अस्पताल पुगेर घाइतेहरूको अवस्थाको बारेमा जानकारी लिएका छन् । राहसल अनाथालय सहयोगार्थ इलाम टुँडिखेलमा जारी मेलामा टिकट लिएर भित्र छिर्ने क्रममा गेटमा ठेलमठेल भएको थियो । सोही क्रममा अगाडी भएका मान्छे लडेपछि मान्छेमाथी मान्छे खप्टिएर सो घटना भएको हो । 

        कमेन्टहरु