भीरमा भेटियो किशोर–किशोरीको शव

नवलपुर टुडे
२०८० बैशाख १ | बिहान १०:०१ बजे

धनगढी । दार्चुलामा भीरमा अड्किएको अवस्थामा किशोर र किशोरीको शव भेटिएको छ । जिल्लाको नौगाड गाउँपालिका–५ बासिडाँडाको भीरमा बिहीबार दुई जनाको शव भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) तर्कराज पाण्डेले नौगाड गाउँपालिका–४ बस्ने अन्दाजी १७ वर्षीया सञ्जिला धामी र लोकेन्द्र ठगुन्ना भीरमा मृत अवस्थामा भेटिएको बताए ।
‘उहाँहरु दुई जनाको शव भीरमा अड्किएको अवस्थामा भेटिएको छ । हामीले बिहीबारदेखि नै निकाल्ने प्रयास गरिरहेका छौँ,’ डीएसपी पाण्डेले भने । डीएसपी पाण्डेकाअनुसार उनीहरु नौगाड गाउँपालिका–५मा बिसु पर्वको अवसरमा लाग्ने मेला हेर्न घरबाट २९ चैतमा निस्किएको बुझिएको छ ।
उनीहरुले प्रयोग गर्ने मोबाइल घटनास्थल नजिकै भेटिएका छन् । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको डीएसपी पाण्डेले जानकारी दिए ।





