मधेश प्रदेश

    प्रादेशिक अस्पताल सिरहा: जेनेरेटरमा आगलागी, डायालासिस गराईरहेका एक बिरामीको मृत्यु

    नवलपुर टुडे
    २०७९ चैत्र २९ | मध्यान्ह ०६:१२ बजे

      प्रदिप सिंह
      सिरहा, चैत २९ गते । प्रादेशिक अस्पताल सिरहाको जेनेरेटरमा आगलागी भएको छ । आगलागीको कारणले प्रादेशिक अस्पताल सिरहामा डायालासिस गराई रहेका एक जनाको मृत्यु भएको छ ।

      मृत्यु हुनेमा सिरहाको बरियारपट्टी गाउँपालिका– खोक्सीका ६५ वर्षीय प्रदीप कुमार दास रहेका छन् । डायालासिस वार्डको छेउमै राखिएको जेनेरेटरमा आज दिउँसो आगलागी भएपछि वार्डमा हाताहाती भएको थियो । त्यस क्रममा डायालासिस गराई रहेका दासलाई रगत कमी भएकोले रगत चढाईरहेको थियो । आगलागी भएको जानकारी पाएपछि वार्डमा खटिएका स्वास्थ्यकर्मीले रगतको पाईप चुुडाईदिएको र क्याब नलगाउँदा विरामीको अत्याधिक रक्तश्राव भएको थियो ।

      अत्याधिक रक्तश्रावका कारण गम्भीर बनेका दासको उपचारको क्रममा मृत्यु भएको हो । आगलागीको समयमा ८ जना डायालासिस गराईरहेका थिए । डायालासिस संधै भईरहेको र पहिलेदेखि सिकिस्त रहेको र उपचारको क्रममा मृत्यु भएको सूचना अधिकारी अशोक सिंहले बताएका छन् ।

      ‘जेनेरेटर चल्दै क्रममा आगलागी भयो,’ सूचना अधिकारी सिंहले भने,‘उपचार गराउदै गरेकालाई पछि आकस्मिक कक्षमा उपचार गराएपनि जोगाउन सकिएन् ।’ अरु वार्डमा पनि भर्ना भएका रोगीहरुको भागभाग भएको थियो । डायालासिस, एचडियू, प्रसुती वार्ड लगायतमा भर्ना भएका रोगीहरु आगलागीको चपेटामा पर्ने भन्दै बाहिर निस्किएका थिए ।

      यता अस्पतालका मेसु डा नागेन्द्र प्रसाद यादव नेपाल बाहिर रहेका छन् ।

        कमेन्टहरु