विराटनगरबाट माेटरसाइकल चाेरी गर्ने गिराेह पक्राउ


मोरङ । मोरङ प्रहरीले मोटरसाइकल चोरी गर्ने गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरूमा देवानगञ्ज गाउँपालिका-३ का १८ वर्षीय राजकुमार यादव, भारत अरअरिया लक्ष्मीपुर-१० का २५ वर्षीय सुशीलकुमार यादव, भारत पेसदाह पंचायतका २५ वर्षीय शौरभकुमार यादव, भोक्राहा नर्सिङ गाउँपालिका -६ का २० वर्षीय सुमनकुमार यादव र विराटनगर महानगरपालिका-१२ मोरङका सञ्जय साह रहेका छन् ।
उनीहरूलाई फरकफरक मितिमा फरकफरक स्थानबाट पक्राउ गरिएको मोरङका डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए । मोटरसाइकल चोरीसम्बन्धी उजुरी बढ्न थालेपछि मोरङ प्रहरीले विशेष अपरेशन नै चलाएर गिरोहलाई नियन्त्रणमा लिइ मंगलबार सार्वजनिक गरेको हो ।
पक्राउ परेकाहरूबाट चोरी गर्न प्रयोग हुने मास्टर कि पाँच पाँच थान र एकसेट नक्कली नम्बर प्लेट बरामद गरिएको डिएसपी दाहालले बताए । उनीहरूले मोरङका विभिन्न स्थानबाट चोरी गरेका मोटरसाइकलहरू पहाडका दुर्गम स्थान, सुनसरीका ग्रामिण क्षेत्र र भारतका विभिन्न स्थानहरूमा लगेर बेच्ने गरेको अनुसन्धानबाट खुलेको छ ।
चोरीका मोटरसाइकलहर नेपाल-भारत सीमा हुँदै अवैध मदिरा ओसारपसार गर्न प्रयोग हुने गरेको पाइएको डिएसपी दाहालले जानकारी दिए । डीएसपी दाहालले मोटरसाइकलका इन्जिनहरू पानी तान्ने मोटरका रूपमा प्रयोगका लागि समेत बिक्री गर्ने गरेको पाइएको बताए ।
पक्राउ परेका पाँचैजनाविरूद्ध जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको डिएसपी दाहालले जानकारी दिए ।





