समाचार

    बुटवल–नारायणगढ सडक निरीक्षण गृह र यातायातमन्त्रीले गरे

    नवलपुर टुडे
    २०७९ चैत्र २७ | मध्यान्ह ०७:१२ बजे

      बुटवल । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक योजना तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वालाले सोमबार नारायणगढ–बुुटवल सडकखण्डको स्थलगत अनुगमन गरेका छन् ।

      ठेकेदार कम्पनी चाइना स्टेटले काममा ढिलाइ गरेको र हिँडडुलमा समस्या परेको भन्दै गुनासो आएपछि अनुगमन गरिएको हो । अनुगमनका क्रममा पछिल्लो समय काम सन्तोषजनक भएको उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताए ।

      गैंडाकोटदेखि बुटवलसम्म मन्त्री र विभागीय मन्त्रालयका प्रतिनिधिले स्थलगत निरीक्षण गर्दै कामलाई तीव्रता दिन निर्देशन दिएका हुन् । नारायणगढ–बुटवल सडक पूर्वीखण्ड योजना प्रमुख रमेशकुमार दृष्टिका अनुसार गत साउन २२ गते ३ सय ८६ दिन म्याद थप गराएको छ । यो समयसम्ममा पचास प्रतिशत काम सम्पन्न हुने लक्ष्य लिएको छ ।

      ‘थप भएको समयमा कामले केही तीव्रता लिएको छ । तर, अधिकतम काम गर्ने प्रतिबद्धता ठेकेदार पक्षले गरेको छ,’ उनले भने,‘अहिले ठेकेदार पक्षले कामदार बढाएको र कामले पनि केही प्रगति गरेको छ । हामीले ठेकेदार पक्षलाई पटक–पटक दबाब दिएका छौ“ काम छिटो गर्न र धुलोरहित तबरले काम गर्नका लागि ।’

      २०७५ माघ २४ मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले ठेक्का सम्झौता गरेर नारायणगढ–बुटवल सडकको स्तरोन्नतिको काम सुरु गरेको थियो । तर ४ वर्षमा २५ प्रतिशत मात्रै काम भएको छ । सो सडक खण्डमा यात्रा गर्नेले सास्ती ब्यहोर्दै आईरहेको छ ।

        कमेन्टहरु