देश

    एसइईका विद्यार्थी बाेकेकाे जीप दुर्घटना: एकजनाको मृत्यु, तीन घाइते

    नवलपुर टुडे
    २०७९ चैत्र २७ | मध्यान्ह १२:१२ बजे

      धनगढी, चैत्र २७ । डडेलधुरा (भीमदत्त) राजमार्गअन्तर्गत कैलालीको चुरेपहाडी क्षेत्र फल्टुडे सडकखण्डमा गए राति भएको जीप दुर्घटनामा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् ।

      सुपप्र ०१००१ ज १४२३ नम्बरको जीप दुर्घटनामा घाइते भएका चुरे गाउँपालिका-६ का १८ वर्षीय भानु ठगुन्नाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताए। उपचारका लागि धनगढी ल्याउने क्रममा ठगुन्नाको बाटामै मृत्यु भएको हो ।

      दुर्घटनामा चुरे गाउँपालिकाकै प्रकाश धामी, हरिष धामीसहित तीन विद्यार्थी समेत घाइते भएका छन् । घाइतेको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ । झन्डै ४५ किलोमिटरको दूरीमा रहेको अत्तरियास्थित दुर्गालक्ष्मी माध्यमिक विद्यालयमा एसइई परीक्षा दिएर घरतर्फ जाँदै गरेका उनीहरू जीप दुर्घटनामा परेका बताइएको छ ।

      मृतक र घाइते चुरे गाउँपालिकाको मलकटेश्वर माविका विद्यार्थी हुन् । रासस

        कमेन्टहरु