देश

    उपनिर्वाचन: चितवन-२ मा जितनारायणलाई कांग्रेसका विद्रोही नेताहरूको सहयोग

    नवलपुर टुडे
    २०७९ चैत्र २६ | बिहान ०९:१२ बजे

      काठमाडौँ । नेपाली कांग्रेस चितवनका नेताहरुले एक ठाउँ रहेको सन्देश दिँदै आगामी उपनिर्वाचनमा कांग्रेसका उम्मेदवारलाई मत दिन संयुक्त रुपमा अपिल जारी गरेका छन् ।

      शनिवार एक अपिल प्रकाशन गर्दै १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य दिनेश कोइराला, चितवनका पूर्व सभापति कृष्णलाल सापकोटा, पूर्वसांसद भिमबहादुर श्रेष्ठ र महासमिति सदस्य मिना खरेलले संयुक्त रुपमा अपिल गरेका हुन् । गत मंसिरमा कांग्रेसले टिकट नदिएपछि विद्रोह गर्दै कोइरालाले चितवन ३ मा स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

      एमालेको समर्थनका बाबजुद उनी राप्रपाका विक्रम पाण्डेसँग पराजित भए। पार्टी निर्देशन अवज्ञा गरेको भन्दै कोइरालालाई कांग्रेसले कारबाही गरेको थियो। गत स्थानीय तह र आम निर्वाचनमा बागी उम्मेदवारलाई सहयोग गरेपछि पूर्वसभापति कृष्णलाल सापकोटा, पूर्वसांसद भीमबहादुर श्रेष्ठ र महासमिति सदस्य मीना खरेललाई पनि कांग्रेसले कारबाही गरेको थियो ।

      उपनिर्वाचनमा पार्टीको उम्मेदवारलाई सहयोग गरे कारबाही पुनविचार गर्ने कांग्रेसको निर्णयपछि उनीहरुले जितनारायणको साथमा उभिएका छन् । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले उनीहरुलाई जितनारायणको पक्षमा उउने पहल गरेका थिए । उनीहरुले चितवन क्षेत्र नम्बर २ को उपचुनावमा नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठलाई विजयी गराउन आग्रह गर्दै कांग्रेसका समस्त कार्यकर्ता तथा शुभचिन्तकहरुलाई एकढिका बनेर लागि पर्न पनि आह्वान गरेका छन् । उनीहरुले कांग्रेस कमजोर भयो भने देश समस्यामा फस्छ भन्ने फेरि पनि समयले प्रमाणित गरिसकेको उल्लेख गर्दै मुलुकका गम्भीर समस्याहरुको समाधानका लागि कांग्रेसमा समग्र एकता हुन आवश्यक रहेकोमा जोड दिएका छन् ।

      देशको समग्र नेतृत्व नेपाली कांग्रेसको हुन आवश्यक रहेको भन्दै कांग्रेसलाई बलियो र सुदृढ बनाउनु देशको आवश्यकता रहेको उनीहरुको भनाई छ ।

        कमेन्टहरु