पक्राउ पुर्जी जारी पश्चात, देवाही गोनाही नगरपालिकाका मेयर कानु फरार


रौतहट । आफ्नो सट्टा ज्वाइँलाई एसईई परीक्षा दिन लगाएका कारण विवादमा तानिएका देवाही गोनाही नगरपालिकाका प्रमुख प्रेमलाल साह कानुविरुद्ध शुक्रबार प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ ।
नगरप्रमुख र उनका छोरा लगायत पाँच जना विरुद्ध जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरिएको हो । अहिले नगरप्रमुख लगायतका आरोपित व्यक्तिहरू फरार छन् । रौतहटको मौलापुर नगरपालिकास्थित लक्ष्मीनिया माविमा संचालन भइरहेको एसईईमा नियमितातर्फका परिक्षा दिइरहेका गरुडा नगरपालिका–६ पोठियाहीका कमल साह (सिम्बोल नम्बर ३५०३७२८) पक्राउ परेपछि नगरप्रमुख कानुको सट्टामा बसेको खुलेको हो ।
साहको बयानको आधारमा नगरप्रमुख कानु र उनका जेठो छोरा कुन्दन साह, लक्ष्मिनिया माविका तत्कालीन केन्द्राध्यक्ष तेजनारायण साह लगायत पाँच जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी कार्यालय गौरले जनायो ।
पक्राउको हल्ला चलेपछि नगरप्रमुख कानु र उनका छोरा कुन्दन लगायत पाँचै जना फरार छन् । प्रहरीले उनीहरुको खोजी गरिरहेको जनायो । पक्राउ परेका कमल साह रेडियो नेपालको बर्दिवास शाखामा पाँचौं तहमा कार्यरत स्थायी कर्मचारी हुन् । साहले अनुसन्धानका क्रममा ससुरा नगरप्रमुख कानुले आफूलाई परीक्षा दिन बोलाएको स्वीकार गरेको प्रहरीको भनाइ छ ।
उनले सरकारी वकिलको कार्यालयमा पनि ससुराको स्थानमा आफूलाई परीक्षा दिन लगाएको बयान दिएका थिए । अनुसन्धानका क्रममा नगरप्रमुख कानुको नाम आएकोले उनीमाथि पनि छानबिन गर्नु परेकोले जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताए ।
‘अहिले मेयरभन्दा पनि परीक्षार्थीको रुपमा देखिएकोले सोही बमोजिम अनुसन्धान कार्य गर्दैछौं,’ उनले भने, ‘घटनामा संलग्न देखिएकाहरु सबै अनुसन्धानको दायरमा आउँछन् । फरारहरु पक्राउ गर्न देशभरका प्रहरी कार्यालयमा पत्राचार गरेका छौं ।’
परीक्षा संचालन भइरहेका बेला अनुगमन टोलीलाई विद्यार्थीप्रति शंका लागेर जाँच गर्दा नक्कली परीक्षार्थी साह पक्राउ परेका थिए । नगरप्रमुख कानुले भने आफू कुनै पनि विद्यालयमा भर्ना नभएको र फर्मसमेत नभरेको भन्दै फसाउन षड्यन्त्र गरिएको दाबी गरेका छन् । उनले नगरपालिकाले लेटरप्याड दुरुपयोग गरेर विज्ञप्तिसमेत निकालेका थिए । त्यसपछि भने उनी छोरासहित फरार छन् ।
प्रहरीले परीक्षा फर्म, रजिष्ट्रेसन तथा परीक्षाका अन्य कागजात झिकाएर अनुसन्धान गरिरहेको जनाएको छ । शिक्षा ऐन २०२८ को दफा १७ मा नक्कली परीक्षार्थीबाट जाँच दिन लगाउने र दिने दुबैलाई ६ महिना कैद वा १ लाख रुपैयाँ जरिवाना वा दुबै हुनसक्ने कानुनी व्यवस्था छ ।
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी मणिभूषण साहको नेतृत्वको परीक्षा अनुगमन टोलीले नगरप्रमुख कानुका ज्वाइँलाई पक्राउ गरेको थियो । नक्कली परीक्षार्थीबारे सूचना पाएपछि प्रशासनको टोली मौलापुर पुगेको हो ।





