रुकुममा सिस्नो टिप्न घरबाट निस्केका दुई दिदीबहिनी मृत फेला


रोल्पा, चैत्र २३ । रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका ३ रन्मामा एकै घरका दुई बालिका मृत अवस्थामा फेला परेका छन् । बुधबार साँझै सिस्नो टिप्न घरबाट निस्केका ११ वर्षीया रिना बुढा मगर र ९ वर्षीया कालिमाया बुढा मगर बिहीबार बिहान मृत अवस्थामा फेला परेका हुन् ।
पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढाका अनुसार गरगहना लुटपाट गरी हत्या गरिएको हुनसक्ने अनुमान गरिएको छ । उनले भनिन् ‘उनीहरुले लगाएको गरगहनाहरु लुटपाट पश्चात् हत्या गरिएको अनुमान गरिएको छ ।’
हिजोदेखि हराएका दुई बालिकाको खोजी कार्य गर्दा गाउँ नजिकैको भीरमा मृत फेला परेका थिए । सूचना पश्चात् रुकुम प्रहरी प्रमुख सहितको टोली घटना स्थलतर्फ लागेको छ । उपाध्यक्ष बुढाका अनुसार घटना भएको ठाउँमा पुग्न करिब एक दिन लाग्छ ।
रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारले फोनको नेटवर्कमा समस्या आएका कारण थप विवरण पाउन नसकिएको बताए ।





