देश

    रविविरुद्ध परेको तीन वटा उजुरीको दावी पुगेन, रविको उम्मेदवारी कायम रहने

    नवलपुर टुडे
    २०७९ चैत्र २२ | मध्यान्ह ०५:१२ बजे

      चितवन, चैत २२ । चितवन क्षेत्र नं.२ मा हुन लागेको प्रतिनिधिसभाको उपनिर्वाचनका उम्मेदवार रवि लामिछानेको उम्मेदवारी कायम रहने भएको छ । लामिछानेविरुद्ध परेको ४ वटा उजुरीमध्ये तीन वटा उजुरीमा दावी नपुगेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनले उम्मेदवारी कायम गर्ने निर्णय गरेको हो ।

      उनका प्रतिस्पर्धी उम्मेदवारले गरेको दाबी विरोध खारेज भएसँगै उनको उम्मेदवारी कायम भएको सहायक निर्वाचन अधिकृत इश्वर आचार्यले जानकारी दिए । ‘दुई स्वतन्त्रसहित ३ जना उम्मेदवारले हिजो रविविरुद्ध दावीविरोध गर्दै उजुरी दिएका थिए’ आचार्यले भने ‘रविको स्पष्टीकरणपछि उहाँहरुको दावी नपुगेपछि उम्मेदवारी कायम गर्ने निर्णय भएको छ ।’

      यस्तै अधिवक्ता युवराज पौडेल ‘सफल’ ले दिएको उजुरीमा निर्वाचन आयोगले नै निर्णय गर्ने भएको छ । त्यसका लागि आयोगले रवि लामिछानेलाई ७ दिन भित्रमा जवाफ पेश गर्न पत्र पठाएको छ । उक्त पत्र आजै लामिछानेलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको छ । ७ दिन भित्रमा रविले दिएको जवाफलाई जस्ताको तस्तै आयोगमा पठाएपछि आयोगले नै निर्णय गर्ने आचार्यले जानकारी दिए ।

      आज दिउँसो मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा आफै उपस्थित भएर लामिछानेले ६ पेजमा जवाफ दिँदै स्पष्टिकरण बुझाएका थिए ।

        कमेन्टहरु