भरतपुर महानगरपालिकाद्वारा ट्राफिक कार्यालयलाई ट्राफिक सामग्री सहयोग


चितवन, चैत २० । भरतपुर महानगरपालिकाले जिल्ला ट्राफिक कार्यालय चितवनलाई ट्राफिक सामग्री सहयोग गरेको छ । सोमबार भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल र प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले संयुक्तरुपमा चितवनका ट्राफिक प्रमुख राजकुमार तामाङलाई सो सामग्री हस्तान्तरण गरेका हुन् ।
हस्तान्तरण कार्यक्रममा मेयर दाहालले ट्राफिक सामग्रीको उचित प्रयोग गरी महानगरको ट्राफिक व्यवस्थापनलाई थप चुस्तदुरुस्त पार्न अनुरोध गरिन् । उनले आगामी वर्षहरुमा पनि महानगरबाट यस्ता सहयोग भइरहने प्रतिबद्धता व्यक्त गरिन् ।
भरतपुरको ट्राफिक व्यवस्थापनको लागि ब्रेथलाइजर २ थान, बडी ओर्न क्यामेरा १ थान, ट्राफिक कोन २५ सेट, हिवल लक सानो २४ पिस र ठूलो ८ पिस हस्तान्तरण गरिएको महानगरका आन्तरिक व्यवस्थापन शाखा प्रमुख झलककुमार श्रेष्ठले जानकारी दिए ।
महानगरपालिकाले ट्राफिक प्रहरीलाई तीन लाख रुपैयाँ बराबरको इन्धन, दुई लाख ८६ हजारको ट्राफिक मोटरसाइकल यसअघि नै हस्तान्तरण गरिसकेको छ ।





