नवलपरासीको प्रतापपुर – ५ बेताहानीमा प्रहरी र स्थानीयबीच झडप, २ राउन्ड अश्रुग्यास प्रहार

नवलपुर टुडे
२०७९ चैत्र १६ | मध्यान्ह ०४:१२ बजे

खुरसेद हजाम
नवलपरासी, चैत १६ । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका-५ बेताहानीमा प्रहरी र स्थानीयबीच झडप हुँदा २ राउन्ड अश्रुग्यास प्रहार भएको छ । प्रहरीले अनुसन्धानको लागि स्थानीय युवक दिनेश कोइरीलाई नियन्त्रण लिन खोज्दा स्थानीयले अवरोध गरेपछि झडप भएको हो ।
झडप अनियन्त्रित हुँदा प्रहरीले दुई राउण्ड अश्रुग्यास प्रहार गरेको इलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक श्यामप्रसाद यादवले बताए । उनका अनुसार युवकसँग भेटिएको १० लाख रुपैयाँ नगदको श्रोत खुलाउन माग गरिएको र अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लैजान खोज्दा स्थानीयले अवरोध गरेका हुन् ।
आफ्नै पैसा बैंकमा जम्मा गर्न हिँडेका युवकलाई प्रहरीले बाटोमा रोकेर नियन्त्रणमा लिन खोजेको स्थानीयवासीको आरोप छ ।





