हत्या आरोपमा देवचुली- ४ का वडा सदस्य सुकमाया सार्कीसहित ८ जना पक्राउ


नवलपुर, चैत्र १५ । नवलपुरमा एक साताअघि एक महिलालाई कुटपिट गरी हत्या गरेको अभियोगमा देवचुली नगरपालिकाकी वडा सदस्यसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वडा सदस्य सुकमाया सार्की, उमा नेपाली, सुजन नेपाली, देवबहादुर बसेल सार्की, दिपककुमार नेपाली, सुशिल नेपाली,धन बहादुर नेपाली र सोममाया बसेल नेपाली रहेका छन ।
उनीहरुलाई देवचुली नगरपालिका – १ केउरेनीगाउँकी ३३ वर्षीया तोलमाया बाचे मगरलाई कुटपिट गरि हत्या गरेको आरोपमा पक्राउ गरेका हुन । बाचे मगरलाई गत बुधबार राती उनीहरुले कुटपिट गरेका थिए । कुटपिट गरेको भोलिपल्ट बिहीबार बिहान ४ बजे उनी आफ्नै निवासमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । घटना बारे हप्ता दिनको अनुसन्धानपछि आज (बुधबार) मात्र आरोपितहरुलाई प्रहरीले सार्वजनिक गरेको हो।
गत बुधबार राति तोलमायाकै घरमा सुतेको अवस्थामा धनबहादुर नेपालीका श्रीमती र गाउँलेको हुल नै लागेर तोलमायालाई कुटपिट गरेको स्थानीयको भनाइ छ । मृतकका छोरालेसमेत गाउँलेले कुटपिट गरेर आफ्नी आमालाई मारेको बयान दिएपछि घटना गम्भीर बनेको भन्दै प्रहरीले अनुसन्धान थालेको जनाएको छ ।
मृतकका लोग्ने नरबहादुर बाचे मगरले गाउँले मिलेर आफ्नी श्रीमतीको हत्या गरेको भन्दै किटानी जाहेरी दिएको आधारमा ८ जनालाई पक्राउ गरिएको हो । उजुरी दिने तोलमायाका श्रीमान पाल्पामा ज्याला मजदुरीको काम गर्दै आएका थिए । घटनाबारे प्रहरीले (आज) बुधबार मात्र सार्वजनिक गरेको हो ।





